कोशी प्रदेश फुटबल प्रतियोगिताको उपाधि मोरङलाई
तेह्रथुम। कोशी प्रदेश पुरुष फुटबल प्रतियोगिताको उपाधि मोरङले जितेको छ। तेह्रथुमको म्याङलुङमा आज सम्पन्न प्रतियोगिताको फाइनलमा ओखलढुंगालाई २–०ले पराजित गर्दै मोरङ विजेता बनेको हो।
मोरङले नगद रु तीन लाख ३३ हजार ट्रफी, मेडल र प्रमाणपत्रसहित प्रथम पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको ओखलढुंगाले रु दुई लाख २२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
म्याङलुङ खेलमैदानमा असार ३ गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका अन्य १२ जिल्लाको सहभागिता रहेको थियो। प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेश विराटनगरको आयोजना, जिल्ला खेलकुद विकास समिति तेह्रथुमको संयोजन र कोशी प्रदेश फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो। बोर्डले रु २० लाख र खेलाडीका लागि आवास, खाजाका लागि म्याङलुङ नगरपालिकाले रु १० लाख प्रदान गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बरालले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment