वर्षा प्रभावित रोमाञ्चक खेल जित्दै दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनलमा, वेष्ट इण्डिज बाहिरियो

डिसी नेपाल
१० असार २०८१ १०:५७
80
Shares

काठमाडौं । टि-२० विश्वकपको सुपर ८ को खेलमा दक्षिण अफ्रिकाले आयोजक वेष्ट इण्डिजलाई हराएको छ । यससँगै दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनलमा पुगेको छ र आयोजक वेष्ट इण्डिज बाहिरिएको छ ।

सुपर ८ को समूह २ का सबै खेल सकिँदा यो समूहबाट दक्षिण अफ्रिका र इङ्ल्याण्ड सेमिफाइनल पुगेका छन् भने दुवै आयोजक वेष्ट इण्डिज र अमेरिका बाहिरिएका छन् ।

समूहरओ अन्तिम खेल नर्थ साउन्डको सर भिभियन रिचर्ड्स स्टेडियममा वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीच भएको थियो । यस खेलमा दक्षिण अफ्रिकाले डीएलएस नियम अनुसार ३ विकेटले जित हात पारेको हो । खेलमा दक्षिण अफ्रिकाले डीएलएस नियम अनुसार जित्नको लागि १७ ओभरमा १२३ रन बनाउनु पर्ने थियो ।

दक्षिण अफ्रिकाको इनिङ्समा दुई ओभरको मात्रै खेल हुँदा पानी परेको थियो । त्यतिबेला अफ्रिकी टोलीको स्कोर दुई विकेटको क्षतिमा १५ रन थियो र समस्यामा परेको देखिन्थ्यो । वर्षा रोकिएपछि खेल सुचारु हुँदा खेल छोटो पारिएको थियो र अफ्रिकाले संशोधित लक्ष्य पाएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा आठ विकेट गुमाएर १३५ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि निकोलस पूरनले ४२ बलमा ३ चौका र २ छक्का सहित ५२ रनको उत्कृष्ट इनिङ खेले । ओपनर ब्याट्सम्यान काइल मेयर्सले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३५ रन बनाए ।

आन्द्रे रसेल (१५) र अल्जारी जोसेफ (११*) पनि दोहोरो अंकमा पुग्न सफल भए। अफ्रिकाका लागि चाइनाम्यान बलर तबरेज शम्सीले २७ रन दिएर तीन विकेट लिए । केशव महाराज, मार्को जानसेन, कागिसो रबाडा र एडेन मार्करामले एक–एक विकेट लिए ।

वर्षापछि छोट्याइएको खेलमा दक्षिण अफ्रिकाका लागि ट्रिस्टन सटब्सले २९, हेनरिच क्लासेनले २२, मार्को जेनसनले २१, एडेन मार्करमले १८, क्विन्टन डी ककले १२ रन बनाए । वेष्ट इण्डिजका लागि रोस्टन चेसले ३ विकेट लिए । आन्द्रे रसेल र अल्जारी जोसेफले २-२ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.