कश्मीर मामिलाको रिफ्लेक्शन : भारत–पाकिस्तान रेल सेवामा अवरोध, यात्रु बिच बाटोमा अलपत्र
नयाँ दिल्ली (एजेन्सी) । भारतले जम्मू कश्मीरबारे गरेको एक विवादस्पद निर्णयका कारण भारत र पाकिस्तानबीच आपसी सम्बन्ध तनावपूर्ण बनेको छ । पाकिस्तानले कुटनीति सम्बन्ध सिमित गर्दै इस्लामावादस्थित भारतीय उच्च आयुक्तलाई फिर्ता गरेको भोलीपल्ट बिहीबार भारत र पाकिस्तानबीच चल्ने रेल सेवामासमेत अवरोध भएको छ ।
बिहीबार पाकिस्तानले शुरुमा सम्झौता एक्सप्रेस (भारत र पाकिस्तानबीच चल्ने रेल) बन्द गरिएको जानकारी दिएको भारतीय सञ्चार माध्यहरुले जनाएका छन्। त्यसपछि फेरि पाकिस्तानले सो सेवा नरोकिएको भन्दै सम्झौता एक्सप्रेस सञ्चालनमा ल्याएको तर, सुरक्षा कारण देखाउँदै पाकिस्तानी क्रु मेम्बरलाई भारत पठाउन नमानेको जनाइएको छ । पाकिस्तानबाट भारततर्फ आएको सम्झौता एक्सप्रेस अटारीमा रोकिएपछि भारतले आफ्ना स्टाफ र रेलको इन्जिन पठाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
पाकिस्तानले सुरक्षा कारण देखाएर रेल सेवामा अवरोध गरेको भारतको दावी छ । पाकिस्तानले रेललाई बिच बाटोमै रोकेपछि अलपत्र परेका यात्रुलाई भारतबाट गएका यात्रु र स्टाफले बाघा सीमासम्म ल्याएको जनाइएको छ ।
भारतले सम्झौता एक्सप्रेस नरोकिनेसमेत जनाएको छ । भारतले पाकिस्तानले दावी गरे जस्तै सुरक्षा व्यवस्था खराब नरहेको भन्दै रेल सेवा जारी रहने बताएको हो।
भारतले जम्मू कश्मीरलाई विशेष दर्जा दिने भारतीय संविधानको धारा ३७० खारेज गरेपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ । भारतीय सो कदमको विरोध स्वरुप पाकिस्तानले भारतसँगको व्यापारिक सम्बन्ध तोडेको छ भने भारतीय हवाई जहाजका लागि आफ्नो आकाश आंशिक रुपमा बन्द गरिदिएको छ । कश्मीर मामिलालाई पाकिस्तानले राष्ट्र संघमा पुर्याउने बताएको छ भने भारतले सो आफ्नो आन्तरिक मामिला भएको बताएको छ ।







डिसी नेपाल








Facebook Comment