कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर प्रवेश

डिसी नेपाल
२३ असार २०८१ २३:३३
144
Shares

खोटाङ। खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर प्रवेश गरेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज सम्पन्न सेमिफाइनल खेलमा झापा ताप्लेजुङलाई शून्यका विरुद्ध छ तथा भोजपुर ओखलढुङ्गालाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

झापाको जितका लागि जर्सी नं ८ की खेलाडी जेनिफर रानामगर एक्लैले छ गोल गर्न सफल भएको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिए। पहिलो हाफको १४, १६, २७ र २९औँ मिनेट तथा दोस्रो हाफको १७ र २०औँ मिनेटमा छ गोल गर्न सफल जेनिफर प्रतियोगिताको ‘म्यान अफ दी म्याच’समेत घोषित भएकी छन्।

झापा आजै भएको क्वाटरफाइनल खेलमा तेह्रथुमलाई शून्यका विरुद्ध चार गोल गर्दै सेमिफाइनल प्रवेश गरेको थियो। यस्तै, भोजपुरको जितका लागि पहिलो हाफको तीन मिनेटमा जर्सी नं ११ की खेलाडी आशिका कार्की र छैटौँ मिनेटमा जर्सी नं १५ की खेलाडी सविना तामाङले एक÷एक गोल गर्न सफल भएको आयोजकले जनाएको छ। भोजपुर र ओखलढुंगाबीचको सेमिफाइनल खेलको ‘म्यान अफ दी म्याच’ भने भोजपुरकी जर्सी नं १४ की खेलाडी आरती भुजेल घोषित भइन।

जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सञ्चालित कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल खेल यही असार २५ गते दिउँसो १ बजेदेखि सुरु हुने छ । यही असार २० गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका महिला खेलाडी सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.