बुद्धिचाल प्रतियोगितामा घिमिरे च्याम्पियन
कास्की। पोखरामा सम्पन्न २० वर्षमुनिको बुद्धिचाल प्रतियोगिताको उपाधि ईश्वर घिमिरेले जितेका छन्। यही साउन ४ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज समापन भएको हो।
अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे)को १०० औँ वर्षका अवसरमा आयोजित प्रतियोगितामा एक सय पाँच प्रतिस्पर्धीलाई पछि पार्दै घिमिरेले उपाधि जिते। हिमालयन मित्र बाल क्लबको आयोजनामा पोखरा–१७ विरौटामा भएको प्रतियोगितामा घिमिरेले कुल आठ अंक प्राप्त गरेका थिए। कौशल थापा द्वितीय तथा अनिज पोखरेल तृतीय हुन सफल भए। विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो।
यसैगरी यु–१६ तर्फ संगम सिम्खडा, यु–१४ तर्फ संकल्प श्रेष्ठ र यु–१० तर्फ प्रशंसा भण्डारीले उपाधि जिते। प्रतियोगितामा हार्दिक पौडेल अनुशासित खेलाडी घोषित भए भने प्रशंसा भण्डारी महिला विजेता भएकाले नगद पुरस्कार पाइन्।
विजेता खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री पञ्चराम गुरुङ, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारी, पोखरा महानगरपालिका बुद्धिचाल संघका अध्यक्ष चन्द्र गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा प्राप्त गर्ने अंक अन्तर्राष्ट्रिय बुद्धिचालको वरियतामा समेत रहनेछ। अर्थात् खेलाडीले प्राप्त गरेको अंक विश्व बुद्धिचालको आधिकारिक रेटिङ (वरियता) मा समावेश हुने आयोजकले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment