लुम्बिनी सरकार गठनमा एमाले र कांग्रेसबीच व्यापक असन्तुष्टि

डिसी नेपाल
१० साउन २०८१ ८:१५
220
Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारको विषयमा एमालेपछि लुम्बिनी कांग्रेसभित्र पनि असन्तुष्टि देखिएको छ।

कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले मन्त्री छनोटको विषयमा प्रदेश समितिलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाउँदै पार्टी सभापति शेरबहादुर देउवालाई बुधबार नै ध्यानाकर्षण पत्र बुझाएका छन्।

सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र जनताको निराशा चिर्ने गरी सक्षम मन्त्री छान्नु पर्नेमा त्यस्तो नगरी मन्त्री छनोट गरिएको र मन्त्री छनोटका क्रममा प्रदेश कार्यसमितिलाई बेवास्ता गरिएको कांग्रेस प्रदेश समितिको आरोप छ।

सभापति देउवालाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ( ‘संघीयता एवं समावेशीताको मर्म र पार्टीको विधानअनुसार प्रदेश पार्टीको अन्तरसम्बन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधानलाई कुल्चिएको छ ।

नेपाली जनतामा संघीयता र प्रदेश संरचनाप्रति वितृष्णा पैदा भइरहेको बेला नेपाली कांग्रेसका आम साथीहरुको भावनाविपरीत यस किसिमको निरकुंश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्न ठहर गरेका छौं ।’

कांग्रेसले लुम्बिनी प्रदेश सरकामा कांग्रेसले ४ जना मन्त्री पठाएको छ । कांग्रेसको भागमा ५ मन्त्रालय परेपनि ४ जनालाई मन्त्री बनाएको हो । जसमा गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीले बिनाविभागीय मन्त्रीको शपथ लिएका छन् ।

यस अघि एमालेभित्र मुख्यमन्त्री छनौटको विषयमा असन्तुष्टि व्यक्त भएको छ । एमाले लुम्बिनी संसदीय दलका लिला गिरीले संसदीय पद्दतिको विरुद्ध मुख्यमन्त्री नियुक्त गरेको भन्दै संसदीय दलको पदबाट राजीनामा दिएका छन् । त्यस्तै एमालेका प्रमुख सचेतकले पनि राजीनामा दिएका छन् ।

एमालेका महासचिव शंकर पोखरेलको हस्तक्षेपपछि संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्री बनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *