बागलुङ पहिरो: थप दुई जनाको शव फेला, ११ वर्षीय बालक बेपत्ता

डिसी नेपाल
२४ साउन २०८१ २०:२७
36
Shares

ढोरपाटन। गत मंगलबार बिहान बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरामा परेर बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ। एक जना अझै बेपत्ता छन्। पहिरामा परेर बेपत्ता ११ वर्षीय मनोज बुढाको शव बिहीबार साँझ फेला परेको हो।

एघार वर्षीय सुमन थापा अझै बेपत्ता रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए। पहिराले घर पुरिँदा बेपत्ता भएका थापाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरी खोजी कार्य भइरहेको उनको भनाइ छ।

पहिरोले घर पुरिँदा स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिने छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मंगलबार नै फेला परेको थियो। तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन्। आज दुई जनाको शव फेला परेको उनको भनाइ छ । बिहान सात वर्षीया मधु बुढाको शव फेला परेको थियो भने केही बेर अगाडि मनोज बुढाको शव फेला परेको अध्यक्ष अधिकारी बताउँछिन्।

अध्यक्ष अधिकारीका अनुसार पहिरामा परी घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढाको अवस्था गम्भीर भएको हुँदा हेलिकप्टरमार्फत उपचार गर्न काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *