स्थानीय तहले आलु खरिद गरेपछि किसानलाई राहत

डिसी नेपाल
२५ साउन २०८१ ८:३९
28
Shares

पर्वत। पर्वतको जलजला गाउँपालिकाले किसानले फलाएको आलुको बीउ खरिद गरिदिएको छ ।

किसानले गत आर्थिक वर्षमा आलुको मूल बीउ उत्पादन गरेका थिए । उक्त आलु पालिकाले नै खरिद गरेपछि किसानलाई राहत मिलेको छ । रु १० लाख ७५ हजारभन्दा बढी मूल्य बराबरको आलुको बीउ पालिकाले खरिद गरेको छ ।

जलजला–६ शालिजाका तीन कृषक समूहले उत्पादन गरेको ३५ हजार चार सय ७० किलोग्राम बीउ आलु उक्त स्थानीय तहले खरिद गरेको हो । बीउ आलु बिक्री गरेका किसानलाई रु १० लाख ७५ हजार चार सय ७० भुक्तानी गरेको गाउँपालिकाको कृषि शाखाका अधिकृत राजु गौतमले जानकारी दिए।

प्रगतिशील बीउ उत्पादक कृषक समूहले उत्पादन गरेको दुई हजार दुई सय ७० किलोग्राम मूलबीउ प्रतिकिलो रु ३५ का दरले रु ७९ हजार चार सय ७० मा खरिद गरेको छ । नमूना र प्रगतिशील बीउ उत्पादक कृषक समूहले उत्पादन गरेको ३३ हजार दुई सय किलोग्राम पहिलो पुस्ताको बीउ रु नौ लाख ६ हजारमा खरिद गरेको हो ।

बीउ उत्पादन गर्ने सबै किसानलाई जलजलाले नगद उपलब्ध गराएको छ । किसानबाट खरिद गरेको बीउ पोखरामा रहेको चिस्यानगृहमा भण्डारण गरिएको छ । बीउ, मल र उत्पादन सामग्री उपलब्ध गराउने गाउँपालिकाले किसानले उत्पादन गरेको आलुको मूल बीउ पनि खरिद गरिदिएको हो ।

गाउँपालिकाले किसानबाट बर्खायाममा खरिद गर्ने बीउ चिस्यानगृहमा भण्डारण गर्ने र हिउँदमा उनीलाई नै बिक्री गर्ने गरेको छ । आलुको बीउ बिक्री गरेर जलजला गाउँपालिकाले गत आव २०८०(८१ मा रु २९ लाख ७१ हजार आम्दानी गरेको छ । गाउँपालिकाको आन्तरिक आम्दानीको २२ प्रतिशत आलुको बीउ बेचेर भएको हो ।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आलुको गुणस्तरीय बीउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बीउ विस्थापित र बीउ आलुमा आत्मनिर्भर बनाउन दुई वर्षयता पिविएम ९पूर्व बीउ आलु० कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

जलजलाको धेरै भूगोलमा आलुखेती भए पनि वर्षौँदेखि एउटै बीउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकीराको समस्या देखिएको थियो । उनले भने, “गुणस्तरीय बीउ उत्पादन गरेर आलु उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले राष्ट्रिय कृषि अनुसन्धान परिषद् ९नार्क०ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्व मूल बीउ भित्र्याएर मूल बीउ उत्पादन गरी किसानलाई बिक्री वितरणको व्यवस्था मिलाएका छौँ ।”

गाउँपालिकाले समूहमार्फत खरिद गरेको बीउ आलु पोखराको शीतभण्डारमा भण्डारण गरी सिजनमा गाउँपालिकाभित्रका बीउ उत्पादक कृषक समूहलाई नै वितरण गर्ने अधिकृत गौतमको भनाइ छ ।

जलजला आलु उत्पादनका लागि उर्वर मानिए पनि विगतमा उन्नत जातको आलुको बीउ समयमै नपाउँदा निराश हुने किसानको समस्या समाधान भएको प्रगतिशील बीउ उत्पादन समूहका तारानाथ भुसालले बताए।

यसैबीच गाउँपालिकाले आर्थिक वर्ष २०८०(८१ मा ६६ हजार ७० किलो उन्नत बीउ बिक्री गरी रु २९ लाख ७१ हजार राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले किसानबाट खरिद गरेको आलुको बीउ ५० प्रतिशत अनुदानमा किसान र कृषि ज्ञान केन्द्रमार्फत सिफारिस भएका कृषक समूह तथा म्याग्दी, कास्कीलगायत जिल्लाका किसानलाई ३५ हजार नौ सय ७७ किलो बीउ बिक्री गरी रु २१ लाख ९८ हजार आम्दानी गरेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *