कांग्रेसलाई बिग्रन दिँदैनौँ: महामन्त्री थापा
चितवन। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बिग्रन नदिने बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको ‘जननायक बिपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान’ कार्यक्रममा उहाँले कांग्रेस सबैको घर भएको र यसलाई बिग्रन नदिने बताएका हुन्। उनले भने, ‘घरमा केही फोहर देखिएको थियो, त्यसलाई सफा गर्छौँ। बिग्रन लागेको घर हामी समाल्छौँ।’
महामन्त्री थापाले पछिल्ला समयमा कांग्रेसले निर्वाचन जित्नका लागि मात्रै गठबन्धन गरेको र अब विचारको आधारमा अगाडि बढ्ने विश्वास दिलाए। निर्वाचन जित्नु र सरकार बनाउनुलाई प्राथमिकतामा नराखी कांग्रेसको विचारलाई गाउँगाउँसम्म पुर्याउन आवश्यक रहेकामा उनले जोड दिए। ‘अबका निर्वाचनमा कांग्रेसलाई एक्लै लड्न सक्ने गरी संगठनलाई सुदृढ बनाएर अघि बढ्नुपर्ने छ। गठबन्धनको राजनीति राम्रो नभएको बुझेर नै केन्द्रीय समितिले निर्णय लिएको छ। त्यसैले एकपटक सबैले आफूलाई सच्याउने संकल्प लिएर अघि बढौँ’, महामन्त्री थापाको भनाइ थियो।
उनले केन्द्रीय समितिको बैठकबाट कांग्रेस शुद्धिकरणको बाटोमा अघि बढेको समेत बताए। अब विगतमा जस्तो पार्टी माथि बिग्रँदा तल बिग्रियो भन्ने छुट कसैलाई नभएको उल्लेख गर्दै महामन्त्री थापाले हरेक समस्या समाधानको केन्द्र बन्ने गरी कांग्रेस अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
पार्टीका केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संगठनलाई एकताबद्ध बनाएर पार्टी आफ्ना विचार प्रष्ट राखेर जनतामाझ जानुपर्ने बताए। उनले भने, ‘सरकारमा रहेका साथीहरूले पार्टीसँगको परामर्शमा मन्त्रालयबाट काम गर्ने र बाहिर रहेका साथीले खबरदारी जारी राख्नुपर्ने छ। यसले राम्रो काम गर्नका लागि सधैँ उत्प्रेरित गर्छ, पार्टीको साख बढ्छ र यसो गरेमा मात्र बिपीको सच्चा कार्यकर्ता बन्न सकिन्छ।” मन्त्री पौडेलले पार्टी महामन्त्री थापा स्वास्थ्यमन्त्री हुँदा अगाडि सारेका योजनालाई कार्यान्वयनमा लैजान आफूले भूमिका खेल्ने बताए।
कार्यक्रममा केन्द्रीय सदस्यहरू उमा रेग्मी, टेकप्रसाद गुरुङ, दिनेश कोइराला, पूर्वपार्टी सभापतिद्वय विकास कोइराला, जीतनारायण श्रेष्ठले पार्टीलाई बलियो बनाउन सबैले आफ्नो ठाउँबाट इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए।
पार्टीका चितवन सभापति राजेश्वर खनालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विधामा एक सय ७४ जना नेताहरुलाई सम्मान गरिएको थियो। उनीहरूलाई मरणोप्रान्त, विशिष्ट र विशेष सम्मान प्रदान गरिएको हो।







डिसी नेपाल







Facebook Comment