आर्जन डाइनामिक्सको नवीनतम उपहार

प्राडा तीर्थप्रसाद मिश्र
१५ असोज २०८१ २०:३३
212
Shares

संयुक्त राज्य अमेरिकाको बिसकन्सिन राज्यको राजधानी म्याडिसन सहर नेपालीहरूको आकर्षणको केन्द्र बन्न पुगेको छ। यहाँ रहेको बिसकन्सिन विश्वविद्यालय अमेरिकाकै एक अब्बल शैक्षिक संस्थामा गणना हुन्छ। यसै विश्वविद्यालयमा अध्ययन गरी कालान्तरमा यतै रोजगारीमा संलग्न नेपालीहरूको संख्या अभिवृद्धि हुँदै गएको छ। चिकित्सा एवं प्राविधिक क्षेत्रका विशेषज्ञ नेपालीका लागि पनि यो उर्वर क्षेत्र भएको छ। हाल यस सहरमा स्थायी रूपमा बसोबास गर्ने नेपालीहरूको संख्या करिब दुई हजार पुगेको अनुमान गरिएको छ।

बिसकन्सिनका केही उत्साही युवाहरूले संगीतको माध्यमद्वारा नेपाली भाषा र संस्कृतिको पहिचान जोगाउन सन् २०२१ मा आर्जन डाइनामिक्स नामक संगीत साधना गर्ने संस्था खोलेका छन्। यस संस्थाले लोक र पप शैलीका सांगीतिक उपहार पस्कने गरेको छ। यसले शैक्षिक एवं भक्ति संगीतका धेरै गीत तथा भिडियो बनाउँदै आएको छ। यसै संस्थाको एउटा शाखा हो, किड्स डाइनामिक्स। यसले नेपाली बालबालिका लक्षित गीत संगीत प्रस्तुत गर्ने गरेको छ ।

यसै क्रमको पछिल्लो कडीका रूपमा एउटा बालगीत अमेरिकामा रहेका नेपाली बालबालिकाहरूले उपहार पाएका छन्। यस गीतकी रचयिता अर्चना धाख्वा हुन् भने संगीतकार सिजर कोइराला हुन्। साथै व्यवस्थापकीय संयोजन निकिता मिश्र तथा श्रीजन श्रेष्ठको रहेको छ। यस गीतमा लाक्पा डोमा शेर्पा र प्रितम राईले मधुर स्वर दिएका छन्।

उक्त बालगीतको शब्दसंयोजन यसप्रकार छ।

अबेला उठेँ म
भएन है हतार
स्कुल जानु पर्दैन
आज त शनिबार।

आइतबार बिहान
पौडी खेल्न जाने म
आमाबाबासँग भरे
बाहिर खाना खाने म।

ओहो छिटो उठ्नु छ
सोमबार त सबेर
स्कुल जाने दिन हो नि
गर्न हुन्न अबेर।

कति धेरै काममा छ
आज मंगलबारको दिन
बिहान स्कुल साँझ पियानो
छैन फुर्सद एकैछिन।

बुधबारको रमाइलो
मेरो तालिम नाचको
धेरै साथीसँगै नाच्छन्
कक्षा तीनदेखि पाँचको।

पढ्दा पढ्दा थाकेँ म
बल्ल बिहीबार भो (उफ)
एउटा लामो छुट्टी मेरो
कहिले आउने हो?

आज घर फर्केपछि
छिटो लुगा फेर्छु म
शुक्रबार हो पाइजामा लगाई
आरामसँग टिभी हेर्छु म।

यो गीत अमेरिकामा रहेका नेपाली बालबालिकामा समर्पित छ। यसमा गीति माध्यमबाट नेपाली भाषा सिकाउने सार्थक प्रयास पनि भएको देखिन्छ। शनिबारदेखि आइतबारसम्म हप्ताका सातै दिन केटाकेटीको मानसिकताको सुन्दर अभिव्यक्ति यस गीतमा पाइन्छ। हप्ताका साथै दिन बारैपिच्छे गरिने क्रियाकलापको वर्णन पनि गीतमा गरिएको छ। सप्ताहान्तका दिनहरू आनन्दपूर्वक बिताउनुपर्ने चिन्तन गीतमा अभिव्यक्त गरिएको छ। मातापितासँग बाहिर खान जाने, पौडी खेल्न जाने, टिभी हेर्ने जस्ता कार्यबाट सप्ताहान्तका दिनमा आनन्द लिने अरू पाँच दिन विद्यालय र पढाइका साथै अन्य क्रियाकलापमा व्यस्त हुनुपर्ने सन्देश गीतको माध्यमबाट सञ्चार गरिएको छ।

यस गीतमा नेपाली बालबालिकाले हप्ताका सातै दिन गर्नुपर्ने अपेक्षित कार्यको वर्णन गरिएको छ। संक्षेपमा भन्ने हो भने यो गीत कर्णप्रिय, बालविनोदी एवं सन्देशमूलक छ। गीतका माध्यमबाट सिकाइमा प्रभावकारिता आउँछ भन्ने तथ्य पनि साबित गर्न खोजिएको छ।

सङ्गीतको माध्यमबाट अमेरिकामा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा र संस्कृतिप्रति मोह जगाउन आर्जन डाइनामिक्सले गरेको निस्वार्थ प्रयास स्तुत्य छ। भविष्यमा पनि यस्तै सराहनीय कार्य गर्न संस्था सफल रहोस्। हार्दिक शुभकामना।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *