सद्भावको पर्व बन्दै छठ

निरंजनकुमार साह/रासस
१६ कार्तिक २०८१ १६:३४
116
Shares

महेन्द्रनगर (धनुषा)। छठ विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो। पछिल्लो समय यसको व्यापकता स्वदेशमा मात्र नभइ सात समुद्रपार पुगेको छ।

जताततै छठको रौनक छ। अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सुरु हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ। त्यसैले यो पर्व आस्था र विश्वास मात्र नभएर सद्भावको पर्व बन्दै गएको हो।

अन्य पर्वहरूको मौलिकता गुम्दै गएपनि छठको मौलिकता जिवित छ। मधेशका महिलाले परिवार र सन्तानका सुख समृद्धिको कामना गर्दै छठ मनाउने गर्छन्। यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक २२ गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ। छठपर्व विशेषगरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भइ षष्ठीको दिनसम्म मनाउने गरिन्छ।

कृषि प्रदर्शनीको पर्व

छठले किसानको परिश्रमलाई सम्मान गर्छ। कृषिउपजलाई प्रसादका रूपमा प्रयोग गरिन्छ। झन्डै ७२ प्रकारका कृषिउपजको छठ पूजामा प्रयोग गरिन्छ। यसले हराउँदै गएको कृषि उत्पादनको पहिचानलाई पुनरावृत्ति गराउँछ।

छठ सुरु हुनु अघिदेखि ठेकुवाका लागि बजारमा गहुँ, चामल, सक्खरको खोजी हुने र नरिवल, बाँसका ढाकी, सुपलीको जोडजाम गरिने मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडी बताउँछन्।

गबडी धान (साठी) सुथनी, अदुवा, बोडी, उखु, नरिवल, स्याउ, सुन्तला, सक्खर (मिठ्ठा), कागती, केराको थम्बा, गहुँ आदिको प्रयोगले किसानको श्रमको कदर गर्ने उनको भनाइ छ। छठ पर्वले कृषि पहिचानलाई जगेर्ना गरेको राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र हर्दिनाथ बनिनियाका प्रमुख मथुरा यादवले बताए।

स्थानीय कृषि उत्पादनलाई छठको प्रसादका रूपमा प्रयोग गरिन्छ। उखु, चामल, केरा जस्ता दर्जनौं कृषिउपजको प्रयोग छठमा हुन्छ। छठमा सूर्यको पूजा हुन्छ। सूर्य शक्तिको प्रतीक हो । सारा संसार यसैको आधारमा चलिरहेको छ।

कृषि उत्पादनको सबै प्रक्रिया सूर्यको प्रकाशबाट सञ्चालित रहेको ज्योतिष पण्डित अमित झाले बताए। “छठ प्रकृतिको पूजा मात्र होइन शक्तिको उपासना पनि हो”, छठ पर्वका जानकार डा राजेन्द्र विमलले भने।

प्राकृतिक सम्पदाको संरक्षण गर्नु जीवन सम्पन्नताको साँचो हो भन्ने तथ्य यो पर्वमा सधैं प्रयोग गरिनेभन्दा फरक कृषि उत्पादन चढाउनुले पुष्टि हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्ण्ब बताउँछन्।

उत्तराधिकारी महन्त रामरोशन दास बैषण्वका अनुसार छठमा प्रसादका रूपमा जे जति कृषि सामग्री प्रयोग हुन्छन् ती हाम्रा खेतबारीकै उत्पादन हुन्। यस पर्वको खानपिन वातावरणमैत्री मानिन्छ। गर्मीको बिदाइ र शरद ऋतुको स्वागतका बेला छठ पर्व मनाइन्छ।

विभिन्न वस्तु प्रसादका रूपमा छठी मातालाई चढाइन्छ। यो पर्वले देखावटी परिपाटीलाई पूर्णरूपमा निषेध गरेको छ। किसानले आफ्नो बारीमा फलाएका कृषि उपजको प्रदर्शनी गरिने जानकारहरु बताउँछन्।

“कसको बारीमा के फलेको छ ? के उब्जिएको छ भन्ने कुरा छठीघाटमा राखिएको पूजासामग्रीबाट सबैले थाहा पाउँछन्”, किसान दीपेन्द्र साहले भने।

छठले सांस्कृतिक रूपमा विशिष्ट स्थान ओगटेको छ। संस्कृति मानवीय जीवनपद्धति र मान्छेले धारण गर्ने वस्त्रसँग सम्बन्धित मानिन्छ। संस्कृतिविद् एवं जानकार राजर्षिजनक विश्वविद्यालाय जनकपुरधामका रजिस्ट्रार सत्यनारायण साहले संस्कृति मानव जीवन पद्धति भएको बताए। छठले यसलाई प्रतिविम्बित गर्ने उनको भनाइ छ।

डा राजेन्द्र विमलका अनुसार कृषि उत्पादन, सामाजिक रहनसहन र सभ्यताका पक्षलाई एकैसाथ छठले प्रतिविम्बित गर्ने गर्छ। “छठको गीतले सबैलाई मन्त्रमुग्ध बनाइदिन्छ। मनमनमा भक्तिभाव जगाइदिन्छ।

जनजनमा ऊर्जा भरिदिन्छ”, स्थानीय पण्डित डिगम्बर झाले भने, “सामाजिक एकता, सद्भाव र सहिष्णुताको कसीलाई चट्टान झैं बलियो बनाइदिन्छ। अनि सबै घर र बस्तीबाट लामबद्ध हुँदै पूजा सामग्रीसहित एकाकार हुन्छन्।”

छठका उपासकहरु जलाशयमा उभिन्छन्। पूजा सामग्री हातमा राखेर अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् र भोलिपल्ट बिहानपख उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । छठीमाईको महिमा गाउँदै आराधना गरिन्छ।

सामाजिक एकता

छठ पर्व मनाउने सनातन धर्मावलम्बीबीच विविधता छ । समुदायगत, जातिगत, भाषागत भिन्नता उस्तै छ । “तर यो व्रत गर्ने व्रतालु वा सघाउने श्रद्धालुबीच त्यसका आधारमा कुनै वैमनस्यता वा द्वन्द्व कहिल्यै हुने गरेको छैन,” जानकार नित्यान्द मण्डलले भने। कुनै समय हिन्दुहरूले मात्रै मनाउँदै आएको छठ अब मुस्लिमहरूले पनि मनाउन थालेका छन्।

छठले समाजको विविधतालाई एकताको मालामा उन्ने उनले बताए। छठघाटमा सबै जातजाति, धर्मावलम्बीको पूजा सामग्री राखेको दौरा, छैंटी श्रीपताको लस्करै राखिन्छन्।

प्रकृतिको पूजा

मधेस प्रदेशसभा सदस्य एवं गंगाआरती अभियन्ता रामअशिष यादवले भने, “चुरे पानीको भण्डार हो भने तराई अन्नको भकारी हो। छठ पर्व मान्नु भनेको चुरेको संरक्षण अर्थात् प्रकृतिको पूजा पनि हो ।” मिथिला र मधेशबाट विश्वभरि छठ फैलिएको छ।

पुर्खाहरूले यसैकारण पनि छठ सुरु गरेको बताइन्छ। “चुरे दोहनले छठ पर्वको अस्तित्व सङ्कटमा पर्न थालेको छ । जलाशयमा उभिएर सूर्यलाई अर्घ दिइन्छ । तर जलाशय पोखरी एवं नदीहरू सुक्न थालेको छ”, उनले भने।

अहिंसाको पर्व

छठमा प्रसादका रूपमा शाकाहारी चीज वस्तु प्रयोग गरिन्छ। यो पर्वले बलि प्रथालाई पूर्ण रूपमा वर्जित गरेको छ। स्वास्थ्यवर्धक खानपिनलाई मात्रै प्रोत्साहन गरिएको पण्डित रामचन्द्र झा बताउँछन्। छठको खानपिन वातावरणमैत्री छ।

गर्मीको बिदाइ र शरद ऋतुको स्वागतका बेला छठ मनाइन्छ। छठको मुख्य प्रसाद ठेकुवा र केरा हो। ठेकुवा सक्खरको प्रयोग गरेर बनाइन्छ। चिसो मौसममा ठेकुवा खाँदा शरीरलाई तापक्रम प्रदान गर्छ। जसले चिसोसँग लड्ने शक्ति प्रदान गर्छ।

लोकतान्त्रिक पर्व

लोकतन्त्रमा सबै बराबर हुन्छन्। यो भावलाई छठ पर्वले बोकेको छ। सूर्यको प्रकाशविना मानव, जीवजन्तु र प्रकृतिको अस्तित्व रहँदैन। सूर्यको प्रकाश सबैका लागि बराबर हुन्छ । प्रचण्ड घाम लाग्दा त्यसले गरिबलाई मात्र पोल्दैन, धनीलाई पनि पोल्छ।

त्यसैले सूर्यको व्यवहार सबैका लागि बराबर हुन्छ। सूर्यबिना विश्वको अस्तित्वको कल्पना गर्न सकिँदैन। सूर्य ऊर्जाकै कारण विश्व जीवित र चलायमान छ, जीवन र प्रकृतिबीचको सन्तुलन कायम राखिएको विश्वास यस पर्वले फैलाउने पण्डित तपु झा बताउँछन्।

छुवाछूतविरुद्धको पर्व

हाम्रो समाजमा छुवाछूत, भेदभाव, तल्लो जाति-माथिल्लो जातिबीच पानी बाराबारको अवस्था अझै देखिन्छ। कानुनी रूपमा वर्जित छुवाछूत समाजमा अझै कायम छ। तर, छठले सामाजिक भेदभावको बाँधलाई भने परापूर्वकालदेखि भत्काएको प्राध्यापक श्यामसुन्दर शशिले बताए।

उनका अनुसार यस पर्वमा कुनैपनि जातजातिको विभेद गरेको छैन। समाजलाई एकताको सूत्रमा बाँध्न छठको ठूलो योगदान रहेको उनको भनाइ छ।

अस्ताउँदो सूर्यलाई अर्घ दिने पर्व

सूर्यलाई रोग र दुःख नष्ट गर्ने शक्तिको स्रोत मानिन्छ। दैनिक घरमा पूजाआजा हुन्छ। हिन्दू परम्परामा पञ्चायन पूजा गरिन्छ। जहाँ गणेश, विष्णु, शिव, सूर्य र कालीको पूजा गरिन्छ। पञ्चायनमा सूर्यको पूजा गर्दा उदाउँदा सूर्यको पूजा हुन्छ। तर, छठमा भने अस्ताउँदो सूर्यको पनि पूजा गर्ने अनौठो चलन छ।

संस्कृतिका जानकार डा विमलका अनुसार उपभोग गरेको शक्तिलाई पनि आराधना गर्नुपर्छ भन्ने भाव पैदा गर्न अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ। हराउँदै गएको अस्तित्वलाई स्वीकार गरेर फेरि नयाँ बिहानीको सुरुआत हुन्छ भन्ने यसको मूल सन्देश हो।

नारी सशक्तीकरण पर्व

छठ नारी सशक्तीकरण अनुष्ठानको पर्व हो। सूर्यको उपासनाको पर्व भए पनि यसले सामाजिक सद्भाव, मानवीय सद्भाव, श्रम र प्रकृतिलाई आदर एवं पवित्रता यसको मूल मान्यता रहेकोे अधिवक्ता रेखा झा बताउँछन्।

सूर्यको उपासनामा कृपालु छठी माताको आशिषविना अनुष्ठान पूरा हुन सक्दैन भन्ने विश्वास छ। यो मातृशक्तिप्रतिको श्रद्धा हो। “छठ मात्र यस्तो अनुष्ठान हो,” उनले भने, “जसमा छोरीको कामना गरिन्छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *