अमेरिकी इन्स्योरेन्स कम्पनीका सीईओको गोली हानी हत्या

डिसी नेपाल
२० मंसिर २०८१ १२:१०
1.4k
Shares

काठमाडौं । अमेरिकी कम्पनी युनाइटेड हेल्थकेयरको बीमा इकाईका प्रमुख कार्यकारी अधिकृत ब्रायन थम्पसनको बुधबार बिहान (स्थानीय समय) न्यूयोर्कमा गोली हानी हत्या गरिएको छ ।

न्यूयोर्कको हिल्टन होटल अगाडि एक आक्रमणकारीले थम्पसनलाई गोली हानेका थिए । न्युज पोर्टल ब्लूमबर्गले प्रहरी अधिकारीहरुलाई उद्धृत गर्दै थम्पसनको छातीमा गोली लागेको बताएको छ ।

कम्पनीको लगानी दिवस सम्मेलनमा सहभागी हुन थम्पसन बुधबार होटल पुगेका थिए । कम्पनीले आफ्ना एक कर्मचारीको स्वास्थ्य अवस्थाका कारण सम्मेलन समयअघि नै सकिएको जनाएको छ ।

न्यूयोर्क पोस्टका अनुसार एक मुखौटाधारी व्यक्तिले थम्पसनमाथि गोली चलाएको थियो । गोली लागेपछि थम्पसनलाई माउन्ट सिनाई अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो।

न्यूयोर्क पोस्टले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै आक्रमणकारी लामो समयदेखि घटनास्थल वरिपरि घुमिरहेको बताएको छ। उनले थम्पसन होटल बाहिर पुगेपछि गोली चलाउन थाले । गोली चलाएपछि आक्रमणकारी घटनास्थलबाट भागेका थिए । अहिले प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ ।

घटनामा प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन । आक्रमणकारी गोरा भएको प्रहरीले जनाएको छ । उनले क्रिम रंगको ज्याकेट, कालो फेस मास्क र कालो र सेतो जुत्ता लगाएका थिए।

आक्रमणमा मारिएका ब्रायन थम्पसन विगत २० वर्षदेखि युनाइटेड हेल्थमा कार्यरत थिए । उनी २०२१ मा कम्पनीको सीईओ बनेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *