पोखरामा डेङ्गुका १६ बिरामी अस्पताल भर्ना

डिसी नेपाल
२ भदौ २०७६ २०:४१

कास्की। पोखरा महानगरपालिका–८ डेङ्गु सङ्क्रमण क्षेत्र हो । अघिल्लो वर्ष यही वडामा पर्ने शिवालय चोकबाट देखापरेको डेङ्गु यसवर्ष पनि सोही क्षेत्रमा डर लाग्दो रुपमा देखिएको हो ।

कास्कीमा यही भदौ १ गतेसम्म १०१ जना डेङ्गुका बिरामी देखिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार भदौ १ गते मात्रै १६ जना डेङ्गुका बिरामी पोखराका विभिन्न अस्पतालमा भर्ना भएका छन् । वडा नं ८ भित्र कवाड सङ्कलन केन्द्रमा रहेका टायरसँगै स्थानीयका घरमा रहेका पुराना भाडामा जम्मा भएको पानी नै डेङ्गु सङ्क्रमणको प्रमुख कारकका रुपमा देखिएको स्वास्थ्य कार्यालयका अधिकृत याम बरालले जानकारी दिए।

नागरिक समाजको सञ्जाल, इन्सेक र आमा मिलन केन्द्रद्वारा संयुक्त आयोजना तथा स्वास्थ्य कार्यालयको सहकार्यमा आज यहाँ आयोजित डेङ्गु सचेतना कार्यक्रममा बोल्दै उनले स्थानीयले रोगका बारेमा पहिचान भए पनि त्यसबाट बच्न कुनै पनि सतर्कता नअपनाएका कारण डेङ्गु रोग बढेको बताए।

आमा मिलन केन्द्रकी अध्यक्षसमेत रहेकी स्थानीय इन्दिरा पौडेलले पटकपटक प्रयास गर्दा पनि महानगरले रोग नियन्त्रणमा चासो नदिएको दुखेसो सुनाइन् । “प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामी सङ्क्रमित बन्न पुगेका छौँ, यो वडा निकै संवेदनशील देखिएको छ, महानगर गम्भीर नबने आगामी वर्ष अझै यसको सङ्क्रमण बढेर जाने निश्चित छ”, उनले भनिन्।

इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले डेङ्गु सङ्क्रमणलाई भयावह रुपमा फैलन नदिन आफूहरुले विभिन्न संस्थासँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए । शान्तिका लागि नागरिक समाजको सञ्जालका अध्यक्ष विष्णु बरालले सबैभन्दा पहिले स्थानीय नै सचेत बन्नुपर्नेमा जोड दिए।

स्थानीयका समस्यालाई वडा कार्यलय र महानगरपालिकासम्म पु¥याउनका लागि समन्वयात्मक भूमिका खेल्न सञ्जाल तयार रहेको उनको भनाइ छ । सफा पानीमा बस्ने र दिनमा मानिसलाई टोक्ने उक्त डेङ्गु रोग सार्ने लामखुट्टे यतिखेर पोखराका वडा नं. ८, ९ र १७ मा बढी देखिएका बताइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *