किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ

डिसी नेपाल
२९ पुष २०८१ २१:४५
128
Shares

बरहथवा (सर्लाही)। किशोर अपहरणमा संलग्न भएको अभियोगमा एक भारतीयसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज ब्रह्मपुरी गाउँपालिका–४, बाट उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ब्रह्मपुरी गाउँपालिका–४, निवासी ६८ वर्षीय रामजी साह, १९ वर्षीय बिक्रम पासवान र भारतको बिहार राज्य सीतामढी जिल्ला राजबाडा ग्रामपञ्चायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

एक १५ वर्षीय किशोरको भारतबाट अपहरण गरी ल्याएर बन्धक बनाई फिरौती मागिरहेको उजुरीको आधारमा प्रहरीले छापा मारेको थियो। सोही क्रममा बिआर ०६ बिटी २८५० नम्बरको भारतीय मोटरसाइकलमा भाग्दै गरेका विक्रम पासवान र प्रवचन साहलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, गोली दुई राउन्ड, एक थान मोबाइल सेट, धारिलो सानो चक्कु र हतौडा एक/एक थान बरामद गरेको प्रनाउ श्रेष्ठले बताए।

पक्राउ परेकाहरूको बयानका आधारमा किशोरलाई बन्धक बनाएर राखिएको घरधनी रामजी साहलाई प्रहरीले पक्राउ गरेको हो। अपहरित किशोरलाई बन्धक अवस्थाबाट उद्धार गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई प्रहरीले शरीर बन्धक हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *