‘क्यापिटल क्विन नेपाल २०२६’ को उपाधि अनिशा खड्कालाई
काठमाडौं। राजधानी निवासी युवती तथा महिलाहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित ‘क्यापिटल क्विन नेपाल २०२६’ को उपाधि अनिशा खड्काले जितेकी छन्।
हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा शनिबार राजधानीमा आयोजित यस सौन्दर्य प्रतियोगिताको दशौँ संस्करणमा अनिता थापा अर्याल ‘फर्स्ट रनरअप’ र अस्मिता तिमल्सिना ‘सेकेन्ड रनरअप’ हुन सफल भए।
विवाहित तथा अविवाहित र विविध पेसामा आबद्ध नारीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रतियोगीहरूलाई करिब तीन सातासम्म विशेष प्रशिक्षण दिइएको थियो। वरिष्ठ फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षण तथा कोरियोग्राफीमा सहभागीहरूलाई व्यक्तित्व विकास, बोलीचाली अभ्यास, क्याटवाक, फोटोसुट र भिडियो सुटका साथै आकर्षक ओपनिङ थिम नृत्यसमेत सिकाइएको थियो। विविध चरणहरू पार गर्दै निर्णायकहरूको प्रश्नोत्तर चरणबाट विजेता तथा उपविजेताहरूको चयन गरिएको थियो।

प्रतियोगितामा विभिन्न विधाका उप-विजेताहरूको पनि घोषणा गरिएको थियो। जसअन्तर्गत मिमिता थापाले ‘मोस्ट स्मार्ट’, अस्मिता तिमल्सिनाले ‘मोस्ट एक्टिभ’, अनिशा खड्काले ‘मोस्ट डाइनामिक’ र अनिता थापा अर्यालले ‘मोस्ट कन्फिडेन्ट’ को शीर्षक हात पारे।
त्यसैगरी नविना कुमारी ओलीले ‘बेस्ट फोटोजेनिक’ र ‘मोस्ट पपुलर’, प्रेमीशा गजमेरले ‘बेस्ट ट्यालेन्ट’, पवित्र गोलेले ‘बेस्ट पर्सनालिटी’ एवं अन्जना श्रेष्ठले ‘मोस्ट चार्मिङ’ उपाधि जितेका छन्। त्यस्तै सबिता तोलानी ‘मोस्ट डेडिकेटेड’ तथा प्रविना कुमाल ‘मोस्ट डेलिजेन्ट’ र ‘बेस्ट मल्टिमिडिया’ घोषित भए।
कार्यक्रमको निर्णायक मण्डलमा मिसेस ग्लोबल नेपाल २०२६ सब्या महर्जन, ब्युटिसियन नेपाल २०२१ सजना खतिवडा, क्यापिटल क्विन नेपाल २०२३ लक्ष्मी भुसाल, मिस्टर ह्यान्डसम नेपाल तथा मोडल अभिषेक खड्का र अभिनेत्री गीता अधिकारी रहेका थिए। राजधानीवासी महिलाहरूमा निहित प्रतिभा र क्षमता उजागर गर्ने मुख्य लक्ष्यका साथ यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक पक्षले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment