मुटुको कथा लोकार्पण
काठमाडौं । मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुको पुस्तक ‘मुटुको कथा’ लोकार्पण भएको छ।
आज राजधानीमा आयोजित कार्यक्रममा डा. सन्दुक रुइत, डा. भगवान् कोइराला, डा. रामकण्ठ माकजु, हरिवंश आचार्य, डा. स्मृति शाक्य र लेखक कोजुले संयुक्तरूपमा लोकार्पण गरेका हुन्।
पुस्तकमाथि बोल्दै कलाकार हरिवंश आचार्यले भने, ‘म स्कूलमा सबैभन्दा नपढ्ने मान्छेले जीवनभर पुस्तक पढेर बिताएको छु। हाम्रो मुटुलाई स्वस्थ राख्न सिकाउने जीवनशैलीजस्तै यो पुस्तक सबैले पढ्नुभयो भने हाम्रो आफ्नै कल्याण हुनेछ।’
पुस्तकमाथि टिप्पणी गर्दै डा. भगवान् कोइरालाले भने, ‘म पनि मुटुको डाक्टर भएर यस्तो किताब लेख्न सकिनँ। मैले भोगेका र उपचार गरेका कथा जस्तै कथा यो किताबमा छन्। किताब लेख्नु आफैंमा पुण्य काम हो। यो किताब लेख्नुमात्रै होइन; पढ्नु पनि पुण्य नै कमाउनु हो।’
पुस्तकले हाम्रो जीवनशैली र खानपानलाई सन्तुलनमा राख्न सक्यौं भने मुटु जोगाएर दीर्घजीवी बन्न सकिने अर्का वक्ता मुटुरोग विशेषज्ञ डा. स्मृति शाक्यले बताए।
‘मुटुको कथाले हाम्रो मुटु स्वस्थ भयो भने मात्रै हाम्रो जीवन स्वस्थ हुन्छ। यो व्यवहारिक पुस्तक हो। सबैका निम्ति पठनीय छ’, अर्का अतिथि डा. सन्दुक रुइतले भने।
त्यस्तै, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले यस पुस्तकले हामीलाई स्वस्थ रहन सधैं झकझकाइरहने बताए।
कार्यक्रममा लेखक डा. राजेन्द्र कोजुले आफूले पढेका, देखेका, भोगेका र उपचार गरेका बिरामीका कथालाई किताबमा बुनेको तथा यी कथाले कतै न कतैबाट मानव कल्याणमा सहयोग गर्ने बताए।
बुकहिल पब्लिकेशनले प्रकाशन गरेको २४० पृष्ठको सचित्र किताबको मूल्य ५०० रुपैयाँ रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment