अर्थसमितिका सदस्यद्वारा लुम्बिनीको विकासबारे चासो

डिसी नेपाल
१४ माघ २०८१ ९:३३
32
Shares

लुम्बिनी। प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका सभापतिसहितको टोलीले आइतबार लुम्बिनी भ्रमण गरेका छन् । समितिका सभापति सन्तोष चालिसेको नेतृत्वमा आएका प्रतिनिधिसभा सदस्यले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरी लुम्बिनीको विकासबारे चासो राखेका हुन् । सांसदलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरेका थिए।

भ्रमणपछि अर्थसमितिका सदस्य सूर्य थापाले लुम्बिनी विश्वका बौद्धमार्गी र शान्तिकर्मीको पवित्र तीर्थस्थल भएकाले यसको विकासका बारेमा आफूहरुले चासो राखेको बताए । उनले लुम्बिनी गुरुयोजनाको ८८ प्रतिशत काम पूरा भएको तर बाँकी रहेको कामका लागि बजेट अभावका विषयमा आफूहरुले ध्यान दिने बताए।

उक्त अवसरमा सदस्य सचिव शाक्यले लुम्बिनी गुरुयोजनाको बाँकी काम, लुम्बिनी क्षेत्रमा भइरहेका पछिल्ला गतिविधिबारे अर्थ समितिका सांसदलाई जानकारी गराएका थिए। लुम्बिनीको पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वबारे जानकारी गराउँदै लुम्बिनीलाई पछिल्ला वर्षमा बजेटमा भएको कटौतीका बारेमा समेत ध्यानार्कषण गराएको शाक्यले बताए । सांसदले मायदेवीको दर्शन, पवित्र पुष्करणीपोखरी, अशोकस्तम्भ, केही विहार क्षेत्रहरुको भ्रमण गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *