रोशीद्वारा बाढीपहिरोले क्षतिग्रस्त गौरवका आयोजना पुनर्निर्माणको माग

डिसी नेपाल
१४ माघ २०८१ १६:३८
72
Shares

काभ्रेपलाञ्चोक। रोशी गाउँपालिकाले निर्माण भइरहेका ‘गौरवका आयोजना’ गत असोज दोस्रो साता बाढीपहिरोबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माणका लागि माग गरेको छ। गाउँपालिकाले निर्माणाधीन एवं निर्माण सकिएका तीन ठूला गौरवका आयोजना पुनर्निर्माण गर्न सम्बन्धित निकायलाई पत्राचारमार्फत माग गरेको हो।

गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोका कारण गाउँपालिकामा निर्माण सम्पन्न भएका तीन ठूला आयोजनामा पूर्ण रुपमा क्षति पुगेको थियो। गाउँपालिका अध्यक्ष दिनेश लामाले ‘गौरव’का योजना मानिएका तीन आयोजनाको पुनर्निर्माणका लागि संघ सरकारलाई पत्राचार गरिएको बताए। उनका अनुसार नेपाल सरकारको सम्बन्धित मन्त्रालयले क्षतिग्रस्त ती आयोजनाको प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन्।

बाढीपहिरोले वडा नं ११ स्थित कालढुङ्गामा करिब ७० रोपनी जमिनमा निर्माण गरिएको तामाङ जातिको विशेषता झल्कने ‘डम्फु जीवन्त सङ्ग्रहालय’सहितको पार्क रोशी खोलाले बगाएको छ। सङ्ग्रहालयमा तामाङ जातिको रहनसहन, वेशभूषा, संस्कृति, रीतिरिवाज तथा सो समुदायले प्रयोग गर्ने सामग्री तथा पुस्तक राख्ने तयारी गरिएको थियो। लामाका अनुसार निर्माण सम्पन्न भएको नौ डायमिटरको डम्फु, सङ्ग्रहालय भवन, पुस्तकालय भवन, वनभोजस्थल, पार्किङस्थल र बगैँचा रोशी खोलाको बाढीले बगाएको थियो।

रु १४ करोडको लागतमा निर्माण सम्पन्न गर्ने योजना बनाइएको सङ्ग्रहालय भवन निर्माणमा नेपाल सरकारको रु पाँच करोड तथा गाउँपालिकाको रु ३८ लाख ६९ हजार खर्च भएको थियो। करिब अन्तिम चरणमा रहेको पार्कका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले रु पाँच लाख विनियोजन गरेको थियो।

सङ्ग्रहालय हाताभित्र करिब रु दुई करोडमा निर्माण गरिएको औद्योगिक ग्रामको प्रशासनिक भवन तथा शीतभण्डार र खानेपानी आयोजनाका संरचना पनि बाढीले बगाएको थियो। उद्घाटनको तयारी भइरहेको ग्रामको संरचना जगैदेखि बाढीले बगाएको छ।

यस्तै, १ नं वडामा निर्माणको अन्तिम चरणका पुगेको १० शैय्याको आधारभूत अस्पतालको भवनसमेत बाढीले बगाएको थियो। नेपाल सरकारको रु छ करोड पाँच लाख २४ हजार लागतमा सम्पन्न हुने अस्पतालको संरचना सम्पन्न गर्न आगामी पुस मसान्तसम्मको समयसीमा थियो।

यसैगरी, रोशी–११ कालढुङ्गामा करिब ७० रोपनी क्षेत्रफलमा तयार भएको चिस्यान केन्द्रसहित औद्योगिक ग्रामको प्रशासनिक भवनसहितको संरचना पनि बाढीले बगाएको छ। संघीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा निर्माण हुने ग्रामका लागि नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको रु एक करोड ६८ लाख र गाउँपालिकाको रु ५४ लाख गरी रु दुई करोड २२ लाख खर्च भइसकेको थियो।

बाढीपहिरोमा परी उक्त गाउँपालिकामा छ महिला, तीन पुरुष, एक बालक र तीन बालिका गरी १३ जनाको मृत्यु भएको थियो भने चार सय ८२ घर पूर्ण रुपमा तथा आठ सय ८३ घरमा आंशिक रुपमा क्षति पुगेको थियो। गाउँपालिका कार्यालयको तथ्यांकअनुसार बाढीपहिरोले दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको थियो भने एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, ४७ विद्यालय र चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो।

यसैबीच, गाउँपालिकाले घर पूर्ण रुपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालेको छ। पहिलो चरणमा घर पूर्ण रुपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको हो। गाउँपालिका अध्यक्ष लामाका अनुसार विभिन्न दाता संस्थाको सहयोगमा वडा नं २ बाट अस्थायी आवास निर्माणको काम सुरु गरिएको तथा वडा नं ९ को नार्के आसपासको क्षेत्रमा हालसम्म ५० वटा निर्माण भइसकेको छ। हाल वडा नं २ मै थप पाँच घर निर्माणाधीन अवस्थामा रहेको लामाले बताए।

उक्त गाउँपालिकाले विपद् व्यवस्थापनका लागि गत कात्तिक ३० गते नै विशेष गाउँसभामार्फत चालु आर्थिक वर्षमा योजनाका लागि विनियोजित बजेटबाट केही प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो। गाउँपालिकाले विपद्सँग सम्बन्धित बनाएर दुई सय ६६ योजना संशोधन गरेको छभने विपद् कोष रु दुई करोड ८० लाखको बनाएको जनाएको छ। कोषको रकमले स्थानीय तहमा अत्यावश्यक विपद् खर्च, बाढीपहिरोले पु¥याएको क्षतिको तथ्यांक संकलन, राहत वितरणलगायत विविध शीर्षकमा खर्च गर्नेगरी संशोधन गरिएको गाउँपालिकाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *