रवि लामिछानेका समर्थकहरुको प्रदर्शनले रविलाई झनै अप्ठ्यारोमा पार्न सक्छ

डिसी नेपाल
४ भदौ २०७६ १६:०४

काठमाडौं। आत्महत्या दुरुत्साहन अभियोगमा रवि लामिछानेसहित ३ जना पक्राउ परेदेखि नै चितवन तनावग्रस्त छ । यहाँ रविका समर्थकहरुले निरन्तर प्रदर्शन गरिरहेका छन् । रविका समर्थकहरुले आफूहरुको प्रदर्शनले सम्बन्धित निकाय दबाबमा आउने र उनलाई रिहा गर्ने अपेक्षा गरेका छन् । तर, यो प्रदर्शनले रवि आफैंलाई समस्यामा पार्न पनि सक्छ ।

अहिले अदालती प्रक्रिया र बाहिर रविका समर्थकको प्रदर्शनका २ असर हुन सक्छन् । पहिलो असर उनका समर्थकले अपेक्षा गरेको असर हो । उनीहरुले चाहेजस्तै उनीहरुको प्रदर्शनले अदालतसहितका सम्बन्धित पक्षहरु प्रभावित हुने र रविलाई रिहा गर्ने । समर्थकको यो अपेक्षा अहिलेसम्म पूरा भएको छैन र अदालतको कार्यसम्पादन हेर्दा यो पूरा होला जस्तो पनि देखिन्न ।

दोस्रो प्रभाव हो रवि लामिछाने अदालतबाहिर रहे यिनै समर्थकको आडमा अदालतको अस्थामाथि नै प्रभावित हुने खतरा अदालतले देख्न सक्छ । अहिलेसम्म यस्तो भइसकेको छैन तर यो हुन सक्ने खतरा छ । यदि अदालतले यस्तो सम्भावना देखेमा रवि हिरासतमुक्त हुनुको सट्टा झनै बढी समय हिरासतमा बस्नुपर्ने हुन सक्छ ।

अहिलेसम्म सरकारी वकिलले अन्य कारण देखाउँदै उनलाई अनुसन्धानको लागि थप समय हिरासतमा राख्न माग गरेका छन् । यही मागको आधारमा अदालतले समय पनि थपिदिएको छ । भोलि रविलाई हिरासतमा राख्न नपर्ने अदालतले ठहर गर्न सक्छ । यदि अदालतले यस्तो ठहर गरेका बेला सरकार पक्षले रवि बाहिर गएमा बाहिर रहेका समर्थकको आडमा अदालतमाथि नै आक्रामक रुपमा प्रस्तुत हुने तर्क गरे र अहिले बाहिर भइरहेको अराजक गतिविधिलाई प्रमाणको रुपमा पेश गरे भने अदालतको निर्णय प्रभावित हुने खतरा पनि छ । यस्तो भयो भने अदालतले रिहा गर्ने मनसाय बनाएको बेला पनि उनलाई हिरासतमै राखनुपर्ने ठहर गर्ने खतरा समेत छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *