डा ऋषि बस्ताकोटीको “विसंगत बस्ती” लाई हरि उत्कृष्ट प्रतिभा पुरस्कार

डिसी नेपाल
२९ माघ २०८१ ९:५०
16
Shares

नर्थ क्यारोलाइना। अमेरिकामा स्थानीय ५० पचास भन्दा बढी लब्ध प्रतिष्ठित तथा सहित्यप्रेमीहरूको भौतिक उपस्थिति र जूम प्रविधि मार्फत काठमान्डू, गोरखा, चितवन, क्यानाडा र अमेरिकाका बिभिन्न शहरहरूबाट हरि सांस्कृतिक केन्द्रका पदाधिकारी सहितका साहित्य अनुरागीहरूको सहभागिता भएको अवस्मरणीय समारोहमा २०८१ माघ २६ गते शनिवार डा ऋषि बस्ताकोटीको “विसंगत बस्ती ” लाई “हरि उत्कृष्ट प्रतिभा पुरस्कार-२०८०” प्रदान गरिएकाे छ।

कार्यक्रमको सुरुवातमा सहभागीहरूलाई स्वागत गर्दै राजेश्वर देवकोटाका पनातिनी केरी देवकोटा र पनाति नील देवकोटाले आफ्ना पितापुर्खाको नेपाली साहित्य, संस्कृति सम्बर्धनमा भएको योगदानलाई नजिकबाट बुझ्न पाएको र हजरबुवा इश्वर देवकोटाको परिकल्पना अनुसार हरि संस्कृतिक केन्द्रका कामहरूमा सहभागी हुन पाउँदा गौरव महसुस भएको उल्लेख गरे।

केन्द्रका संरक्षक इश्वर देवकोटाले आफ्ना पिताजी राजेश्वर देवकोटाले आफुले प्राप्त गरेको मदन पुरस्कार र साझा पुरस्कारको राशीबाट २०४६ सालमा हजुरबुबा हरिभक्त देवकोटाको नाममा सांस्कृतिक केन्द्रको स्थापना गरी प्रत्येक वर्ष श्रीपंचमीका दिन गोरखा जिल्लामा जन्मेका या गोरखासम्बन्धी साहित्यिक काम गर्ने स्रष्टालाई हरि उत्कृष्ट प्रतिभा पुरस्कारले सम्मान गर्दै आएको र यस वर्ष गोरखाको लिगलिग पाथिभरामा जन्मेर तीन दशकदेखि नेपाली साहित्यमा योगदान गर्दै आएका साहित्यकार डा ऋषि बस्ताकोटीलाई संजोगले प्रवासमा उपलब्ध प्रविधि प्रयोग गरी सम्मान गर्न सम्भव भएकोमा हर्ष व्यक्त गरे।

कवि नारायणप्रसाद पोखरेललाई राजेश्वर देवकोटा विद्वतवृत्ति पनि प्रदान पनि गरियो।

केन्द्रका अध्यक्ष डा प्रभा कैनीले जूममार्फत काठमाडौँबाट सम्बोधन गर्दै संस्थाका गतिविधि बारे प्रष्ट पर्दै यस बर्ष पुरस्कृत कृति “विसंगत बस्ती” र यसका स्रष्टा डा ऋषि बस्ताकोटीको साहित्यिक योगदान बारे उल्लेख गरे।

बस्ताकोटीका मुक्तकहरु पुरस्कार पाउन योग्य भएकै कारण छनोट भएको भन्दै विसंगत बस्ती कृतिभित्र समय सापेक्षित अनि अत्यन्तै गहकिला र ससक्त मुक्तकहरु रहेका बताउँदै आफुलाई मन परेका दुई मुक्तक बाचन गरेर सुनाए।

नर्थ क्यरोलाइना नेपाली साहित्य समाजका अध्यक्ष शिखर दुलालले पुरस्कृत कृति समाजको ऐना जस्तै भएको र यसमा भएका मुक्तकहरुले वेथिति, कुसंस्कार र अव्यवस्था विरुद्ध शब्दको आन्दोलन सुरु गरेका छन् अनि अग्रगामी सोचका साथ सकारात्मक पथमा अघि बढ्न आह्वान गरेका छन् भन्ने धारणा राखे। “विसंगत बस्ती” युग सचेत पाठकले पढ्न पर्ने खालको कृति हो भन्ने थप जिकिर गरे।

पुरस्कृत स्रस्टालाइ बधाई दिँदै साहित्यकारहरू नम्रता गुरागाई, पेशल पोखरेल, भूमि नेपाली, प्रभा पोखरेल र पारु तिमल्सिनाले संग्रहभित्रबाट आफूलाई मन परेका मुक्तकहरु वाचन गर्दै यस विसङ्गत बस्तीका केही मुक्तकहरु पर्यावरण पाठ्यक्रममा पनि समावेश भएकोमा लेखकलाई बधाई पनि दिँदै सभालाई सुरम्य बनाए।

अघिल्लो बर्ष यसै पुरस्कारबाट सम्मानित गोर्खाली लोककवि सुरेशकुमार भट्टले नेपाली साहित्य र संस्कृतिको प्रवर्धन र गोरखाली प्रतिभाको सम्मानमा हरि संस्कृतिक केन्द्रको योगदानको चर्चा गर्दै यो सम्मान पाउने आफू ३३औं स्रष्टा भएको र अहिले लिगलिगमा जन्मेका वातावरण विज्ञानमा आफ्नो विशेषज्ञता आर्जन गरेका युग सचेत साहित्यकार ऋषि बस्ताकोटीलाइ ३४ औं पुरस्कृत गरी अमेरिकाको प्रवासी भूमिमा सम्मान गर्ने समारोहको साक्षी बस्न पाउँदा खुशी लागेको बताए।

कार्यक्रमकी प्रमुख अतिथि चर्चित साहित्यकार डा. नीलम कार्की निहारिकाले प्रमाण-पत्रको व्यहोरा पढेर सुनाउंदै डा ऋषि बस्ताकोटी जस्तो अब्बल साधकलाई हरि उत्कृष्ट प्रतिभा पुरस्कार समर्पण गर्न पाउँदा गर्व अनुभूति भएको बताए। पुरस्कार चयनमा हरि सांस्कृतिक केन्द्रले न्याय गरेको बताउँदै यो सम्मानले साहित्यकार बस्ताकोटीलाई थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।

आगामी दिनमा नेपाली साहित्यले बस्ताकोटीका विविध विधाका अन्य पुस्तकहरू पनि पाओस् भन्ने शुभकामना दिए। उनले साहित्यमा राजनीति घुसाएर संकुचन ल्याउन नहुने विचार व्यक्त गर्दै नेपाली समाजले राजेश्वर देवकोटाको साहित्यिक योगदानलाई मुल्यांकन गर्न नसकेको र उनको साहित्यिक व्यक्तित्वलाई राजनीतिक रंग दिएर हेर्न नहुने धरणा राखे।

उनले नेपाली साहित्यआकाशका विशेश्वरप्रसाद कोइराला, पारिजात र राजेश्वर देवकोटाका कृतिलाई उनीहरूका राजनीतिक पक्षधरताभन्दा धेरै माथि राखेर साहित्यिक नजरबाट हेरिनुपर्ने बिचार राखे।

कार्यक्रमको सहआयोजक संस्था नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका बारेमा चर्चा गर्दै पूर्व अध्यक्ष मनोज प्रधानले यस संस्थाले मासिक घरदैलो साहित्य कार्यक्रम निरन्तर संचालन गर्दै आइरहेकाे र यस संस्थामा आबद्ध हुने धेरै साहित्य अनुरागी मित्रहरू साहित्य लेखनमा सफल हुँदै आइरहेको थुप्रै उदारहरण भएको बताउँदै सभाको गहकिलो संयोजन गरेका थिए।

पुरस्कृत स्रष्टा बस्ताकोटीकी जीवनसंगनी कल्पना घिमिरेले यो सम्मानले आफ्नो परिवारलाई गौरव अनुभूति भएको बताउँदै ऋषिजीका सिर्जनाले सामान्यतया मानिसले ख्याल नगरेका कुराहरूमा सुक्ष्म दृष्टिकोण प्रदान गर्ने गरेको मुल्यांकन प्रस्तुत गरे।

सम्मानित स्रष्टा बस्ताकोटीले हरि उत्कृष्ट प्रतिभा पुरस्कारलाई आफ्नो साहित्यिक जीवनमा प्राप्त महत्वपूर्ण सम्मानको रुपमा लिएको बताउँदै आफू बाल्यकालमा हरिभक्त देवकोटा र राजेश्वर देवकोटाका सामाजिक, सांस्कृतिक, साहित्यिक र राजनीतिक योगदानहरू अघिल्लो पुस्ताबाट सुन्दै हुर्केको, विद्यालयमा राजेश्वर देवकोटाद्वारा लिखित निवन्ध पाठ्यक्रममा पढ्न पाउँदा भोलि आफू पनि यस्तै साहित्यकार बन्न पाए हुने भन्ने सपना सजाएको, विभिन्न जिल्लास्तरीय प्रतियोगिताहरूमा राजेश्वर देवकोटाद्वारा लिखित पुस्तकहरू पुरस्कारस्वरुप पाएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *