सहमति र सहकार्यले देश विकास सम्भव : नेता भण्डारी

डिसी नेपाल
६ भदौ २०७६ २३:१४

दमौली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्ववनमन्त्री शङ्कर भण्डारीले आपसी सहमति र सहकार्यले मात्र देश विकास सम्भव रहेकोमा जोड दिएका छन्।

तनहुँको भानु नगरपालिका–५ नावरुङमा निर्माण गरिएको देवीमन्दिरको उद्घाटन कार्यक्रममा आज नेता भण्डारीले राजनीतिक खिचातानीले देश विकास हुन नसकेकाले देश बनाउन सबै पार्टीबीच सहमति आवश्यक रहेको बताए।

नेपालको राजनीतिक परिवर्तनका लागि सबै दलहरूको उत्तिकै महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै नेता भण्डारीले विकासका सवालमा पनि दलहरूको एउटै आवाज हुनुपर्ने धारणा व्यक्त गरे।

सिङ्गापुर, मलेशिया विकास हुन धेरै समय नलागेको भन्दै उहाँले नेपाल पनि विकासको बाटोमा अघि बढ्न सक्ने चर्चा गरे। नेता भण्डारीले कला र संस्कृति संरक्षणका लागि सबै जनता जागरुक हुनुपर्ने बताए। नेपाल कला र संस्कृतिमा धनी भए पनि कला संस्कृति लोप हुँदै जान थालेकोमा नेता भण्डारीले चिन्ता व्यक्त गरे।

११ लाखको लागतमा निर्मित मन्दिर वरपर तारबारका लागि पूर्वमन्त्री भण्डारीले रु एक लाख सहयोग गरेका थिए। साथै मन्दिर निर्माणका लागि वडा कार्यालयले दुई लाख सहयोग गरेको भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्लले जानकारी दिए। बाँकी रकम स्थानीयवासीले श्रमदान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *