विमानस्थल ओर्लनासाथ दुर्गा प्रसाईँ प्रहरीको फन्दामा: युट्युबरलाई गेटमै रोकियो, प्रसाईँ निवास पुर्याइए
काठमाडौं। राजावादी अभियन्ता एवं व्यवसायी दुर्गा प्रसाईँलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ प्रहरीले नियन्त्रणमा लिएको छ।
आफ्नो गृहजिल्ला झापाबाट काठमाडौं फर्कने क्रममा विमानस्थलको आन्तरिक टर्मिनलनजिकैबाट काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रसाईँ काठमाडौं आउँदा विमानस्थलमा अन्तर्वार्ता र भिडिओ ‘कन्टेन्ट’ का लागि युट्युबर तथा सञ्चारकर्मीहरूको ठूलो भीड लागेपनि प्रहरीले पत्रकार र युट्युबरहरूलाई विमानस्थलको मुख्य प्रवेशद्वार (गोल्डेन गेट) मै रोकेर भित्र प्रवेश गर्न नदिएपछि प्रसाईँसँग उनीहरूको भेट हुन सकेन।
विमानस्थल ओर्लनासाथ काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराई नेतृत्वको टोलीले प्रसाईँलाई नियन्त्रणमा लिएर सिधै प्रहरीको गाडीमा हालेको थियो। नियन्त्रणमा लिइए पनि उनलाई प्रहरी हिरासत वा वृत्ततर्फ नलगी कडा सुरक्षाबीच भक्तपुरस्थित उनकै निजी निवास पुर्याएर छाडिएको छ।
प्रहरी प्रवक्ता भट्टराईका अनुसार विमानस्थल जस्तो संवेदनशील र निषेधित क्षेत्रमा सार्वजनिक रूपमा उत्तेजक अभिव्यक्ति दिन नपाइने कानुनी व्यवस्था भएका कारण सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उनलाई सञ्चारकर्मीहरूसँग भेट्न र बोल्न नदिई सुरक्षित रूपमा घर पुर्याइएको हो।
पछिल्लो समय मुलुकमा मिटरब्याज पीडितको आन्दोलन, सुकुमवासी व्यवस्थापनको विवाद र देशैभर बढेका आत्मदाहका घटनाका कारण सरकारमाथि चौतर्फी आलोचना र नागरिक दबाब बढिरहेको छ।
यस्तो संवेदनशील राजनीतिक तथा सामाजिक माहौलमा प्रसाईँले विमानस्थलमै पत्रकार सम्मेलन वा उत्तेजक अभिव्यक्ति दिएर काठमाडौँको शान्ति सुरक्षाको अवस्थालाई झनै भड्काउन सक्ने उच्च जोखिम देखिएकाले गृह मन्त्रालय र प्रहरी प्रशासनले पूर्वसतर्कता अपनाउँदै यो कदम चालेको बुझिएको छ। प्रसाईँको निवास वरपरसमेत सम्भावित अवाञ्छित गतिविधि रोक्न सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको छ।






डिसी नेपाल





Facebook Comment