आमन्त्रित महिला गोल्डकप: नेपाल पुलिस क्लब सेमिफाइनलमा
मङ्गलबारे (इलाम)। विभागीय टोली नेपाल पुलिस क्लब इलाममा जारी दोस्रो आमन्त्रित महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बाग्मती युथ क्लब सर्लाहीलाई हराउँदै पुलिस क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो।
आज भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। पुलिसले थुप्रै अवसर पाए पनि त्यो अवसरलाई सदुपयोग गर्न सकेन। दबाबमा रहेको बाग्मतीले पनि पाएको अवसरमा गोल गर्न सकेन।
पुलिसका तर्फबाट पहिलो हाफमा पाएको दुईवटा ‘कर्नर’ प्रहारलाई बाग्मतीकी गोल रक्षक उषा थापाले सहजै बचाउ गरिन्। पुलिस क्लबका तर्फबाट सुष्मा तामाङले अवसर पाए पनि बल गोल पोस्ट माथिबाट बाहिर गयो।
दोस्रो हाफमा पनि दबाबमा राखेको पुलिसले खेल सञ्चालन भएको १५आँै मिनेटमा ‘पेनाल्टी’ को अवसर पायो। तर पुलिसले सो पेनाल्टीको सदुपयोग गर्न सकेन। राष्ट्रिय टोलीकी ‘डिफेन्डर’समेत रहेकी पूजा रानाले पेनाल्टी प्रहारलाई गोलमा परिणत गर्न सकिनन्। खेलको थप समयमा पनि पुलिसले गोल गर्न सकेन।
निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ‘टाइब्रेकर’का आधारमा गरिएको थियो। टाइब्रेकरमा पुलिसले बाग्मती युथ क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो। टाइब्रेकरमा पुलिसका तर्फबाट निरु थापाको प्रहार बाहिरिएको थियो भने बाग्मतीका तर्फबाट सेमीहाङ्मा लिम्बू, विष्णुमाया बल र अञ्जली खवासको प्रहारलाई गोलरक्षक उषा नाथले बचाउ गरिन्।
ओएसिस क्लब इलामको आयोजनामा अन्तरराष्ट्रिय आमन्त्रित महिला गोडकपको दोस्रो संस्करण शनिबारदेखि सुरु भएको हो। फाइनल खेल जित्नेले रु चार लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार प्राप्त गर्ने छ। सोमबार विभागीय टोली त्रिभुवन आर्मी र ‘डिफेन्डिङ च्याम्पियन’ मानेभञ्ज्याङबिच खेल हुनेछ।







डिसी नेपाल







Facebook Comment