राजसंस्था पुर्नस्थापनाको षड्यन्त्र भयो, प्रतिवाद गरेर विफल पारौं : नेसपा

डिसी नेपाल
३ चैत २०८१ २१:००
344
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीले गणतन्त्रका विरुद्ध राजतन्त्र पुर्नस्थापनाको षड्यन्त्र भइरहेको भन्दै त्यसलाई विफल पार्न अपील गरेको छ।

पार्टीका अध्यक्ष महिन्द्र राय यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध राजतन्त्र पुर्नस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुर्नउत्थानवादी तत्वहरू सल्बलाएको बताएका छन्।

उनले यसको सशक्त प्रतिवाद गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न नेसपा प्रतिवद्ध भएको बताए। अध्यक्ष यादवले प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई विफल पार्न आम नागरिकलाई अपील गरेका हुन्।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको विस्तारित बैठकले गरेको निर्णय भन्दै उनले राष्ट्रको स्वाधिनता, आर्थिक, सामाजिक सांस्कृतिक रुपान्तरणका लागि गणतन्त्रवादी शक्तिले सही ढंगले नेतृत्व लिन नसक्दा जनतामा निराशा छाएको उल्लेख गरेका छन्। राज्य संचालकहरुको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो अवस्था सामना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘भ्रष्टाचार र कमिशनका कारण अर्थतन्त्र संकटग्रस्त छ। सरकार विचौलिया दलालहरुको कब्जामा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अध्यादेशमार्फत् शासन चलाउने, सदनलाई छल्ने गरेर लोकतान्त्रिक मुल्य, मान्यताको उपहास गर्दैछ।’

अध्यक्ष यादवले विज्ञप्तिमार्फत् चैत्र १५ गते काठमाडौंमा समाजवादी मोर्चाले गर्ने विरोध सभामा पार्टी पंक्ति सशक्त रुपमा परिचालित हुन निर्देशनसमेत दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *