मानसिक विकासका लागि खेलकुद आवश्यक: सभापति देउवा

डिसी नेपाल
७ चैत २०८१ १८:३२
40
Shares

पाटन (ललितपुर)। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हरेक व्यक्तिको मानसिक विकासका लागि खेलकुद आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘खेलकुद नीति तथा कार्यक्रम’ विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्री समेत रहेका उनले पार्टीले तय गर्ने नीतिले खेलाडीको मनोबल बढाउने र खेलकुदको विकास हुने बताए।

‘तपाईंहरुको सुझाव पार्टीले ग्रहण गर्नेछ, मानसिक स्वास्थ्यका लागि शरीरको स्वस्थता पनि आवश्यक छ, खेलकुदले यी दुवै पक्षलाई स्वस्थ राख्ने काम गर्छ’, उनले भने।

पार्टीका उपसभापति धनराज गुरुङले खेलकुदलाई राज्यले उपेक्षा गरेको बताउँदै यसलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्नेमा जोड दिए। ‘खेलकुद पूर्वाधार निर्माण गर्नेभन्दा पनि कुनै एउटा प्रतियोगिता जित्नेबित्तिकै पुरस्कार घोषणा गर्नेमा सरकारलाई हतार हुन्छ, खेलकुद विश्वविद्यालयको अवधारणाका विषयमा नेताहरु साक्षात्कार हुन सकेका छैनन्, खेलकुद विश्वविद्यालय, खेलकुद उद्योग र खेलकुद पर्यटनलाई ध्यान दिनुपर्छ, नेपालमा प्रशस्त सम्भावना छ’, उपसभापति गुरुङले भने।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयमा खेलकुदसम्बन्धी नीतिगत व्यवस्था अगाडि बढेको उल्लेख गर्दै बजेट बन्नेक्रममा रहेको बताए। उनले नीति तथा कार्यक्रममा खेलकुदका कार्यक्रमलाई सम्बोधन गरिए पनि लगानीको समस्या रहेको बताए।

पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीले खेलकुदलाई महत्त्वपूर्ण स्थानमा राखेको बताउँदै खेलकुदलाई पनि अरु विषयलाई जस्तै ध्यान दिएर अगाडि बढाउने धारणा राखे।

लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनले हाल जिल्लाजिल्लामा खेलकुद सङ्घको अधिवेशन गराइरहेको जानकारी गराउँदै अधिवेशनसँगै खेलकुदका गतिविधि र नीतिगत विषयमासमेत बहस भइरहेको जानकारी गराए।

संविधानसभा सदस्य मोहन राईले कांग्रेसको नीतिमा खेलकुदलाई समेटेर खेलकुद परिषद्, ओलम्पिक कमिटी र मन्त्रालयबीचको समन्वयलाई जोड दिनुपर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *