चैत्रकृष्ण एकादशीः पापमोचनी एकादशी व्रत गरिँदै

डिसी नेपाल
१२ चैत २०८१ ६:३५
64
Shares

काठमाडौं। जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गरिँदैछ। प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत आज भगवान् विष्णुको पूजा, आराधना गरी मनाउन लागिएको हो।

यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई र लोमस ऋषिले मान्धाता राजालाई बताएका थिए। पहिला वसन्त ऋतुका बेलामा अप्सराहरूले विहार गर्ने चैत्ररथ नाम गरेको वन थियो । त्यो वनमा च्यवन ऋषिको आश्रममा मेधावी नाम गरेका ऋषि तपस्या गरेर बसेका थिए।

मञ्जुघोषा नामकी अप्सराले ऋषिलाई कामदेवको बसमा पारेर मोहित बनाए। ऋषिको तपस्या समाप्त पार्दै आचार–विचार, तपस्या, नियम–आचरण सबै लोप बनाए।

स्वर्ग जान मेधावी ऋषिलाई बिन्ति गर्न लागे र ऋषि मोहमा पर्दै ‘तिमी आजै आएकी हौं। अहिले मसँग बस र भोलि बिहान उज्यालो भएपछि जाउली’ भन्न थाले। ती दुवैको ५५ वर्ष, नौ महिना, तीन दिनसम्म रमण गर्दै बितेछ।

अप्सराले जान्छु भनेपछि ऋषिले सन्ध्या गरुञ्जेल बस भनेको कथा विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको सनातन विद्वत् परिषद् नेपालका सदस्य पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिए।

ऋषिले ध्यान गरेर हेर्दा तिनीसँग ५५ वर्ष बितेको र आफ्नो जपतप, तपस्या, आचार, विचार सबै कर्म लुप्त भएको देखेर ‘स तां शशाप मेधावी त्वं पिशाची भवेति च’ अर्थात् तँ पिशाचिनी होइजा भनेर श्राप दिएको प्रसंग रहेको देवकोटाले सुनाए।

“मञ्जुघोषाले हात जोड्दै बिन्ति गरेर हे प्रभु यो श्राप के गर्यो भने नाश हुन्छ ? भनेपछि ऋषिले चैत्र महिनाको कृष्णपक्षको पापमोचनी नाम गरेको एकादशीको व्रत गर्नाले पाप नाश हुनेछ भन्नुभयो”, उनले उल्लेख गरे।

चैत्रको कृष्णपक्षमा पापमोचनी नामको एकादशी पर्दछ। त्यस एकादशीको व्रत गर्दा समस्त पाप नाश हुन्छ भनेको सुनेर मेधावी ऋषिले पापमोचनी एकादशीको व्रत गरेका थिए। मञ्जुघोषा अप्सराले पनि व्रत गरेर श्रापबाट मुक्त भई स्वर्ग गए। मेधावी ऋषि पनि फेरि पुण्यवान् भएको कथा पनि वर्णन गरिएको छ।

सम्पूर्ण मानवले जानी नजानी गरेका पाप नाश गर्न यो व्रत लिनुपर्ने विधान छ। यसबाट पाप नाश भई यो माहात्म्य श्रवण मात्र गर्नाले पनि एक हजार गाई दान गरेको फलका साथै धेरै पुण्य प्राप्त हुने विश्वास गरिने नातन विद्वत् परिषद्का सदस्य पण्डित देवकोटाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *