कार्यकारी अधिकार पाएपछि प्रचण्ड सक्रिय

डिसी नेपाल
९ भदौ २०७६ ७:४७

काठमाडौं। दुई दलबीच एकता भएको १५ महिनापछि कार्यकारी अध्यक्षको भूमिका पाएका नेकपा अध्यक्ष प्रचण्ड पार्टी एकताको बाँकी प्रक्रिया पूरा गर्न सक्रिय भएका छन्।

गत बिहीबार प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली उपचारका लागि सिंगापुर गएपछि कार्यकारी अध्यक्षको भूमिकामा रहेका प्रचण्डले पार्टी एकताको बाँकी काम पूरा गर्न सोमबार दिउँसो एक बजे सचिवालय बैठक बोलाएका छन्।

सचिवाल बैठक बोलाउनु पूर्व प्रचण्डले आइतबार सचिवालय सदस्यहरु बामदेव गौतम र ईश्वर पोखरेलसँग भेट गरी सांगठनिक एकताका बाँकी टुङ्गो लगाउने विषयमा छलफल गरेका थिए।आइतबार नै प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग एक घण्टा लामो भेटवार्ता गरेका थिए।

सचिवालयको बैठकले गरेका निर्णयप्रति सात बुँदे असहमति दर्ता गराउनुभएका सचिवालय सदस्य माधवकुमार नेपालसँग पनि अध्यक्ष प्रचण्डले छलफल गरेका छन्। छलफलमा वरिष्ठताका आधारमा भएको कार्यविभाजनमा केही त्रुटि भएको भन्दै प्रचण्डले त्यसलाई सर्वसम्मतिका आधारमा सच्याउन प्रयास गरिने प्रतिबद्धता जनाएका थिए।

प्रतिपक्षलाई समेत विश्वासमा लिएर जानुपर्ने पक्षमा रहेका प्रचण्डले प्रधानमन्त्री ओली १५ दिन मुलुक बाहिर रहँदा एकता प्रक्रियाका बाँकी काम पूरा गर्ने गरी काम गरिरहेका छन्।

लामो समयसम्म ‘सेरेमोनियल’ अध्यक्षका रुपमा रहेका प्रचण्ड कार्यकारी अध्यक्ष बनेपछि सक्रिय बनेका हुन्।  नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू उपचारका लागि सिंगापुर जानुअघि सचिवालयको बैठक बसाएर पार्टी एकीकरणका कामहरू टुंगोे लगाउने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएका थिए।

पछिल्लो समयमा पार्टीमा समन्वयकारी नेताको छवि बनाएका प्रचण्डले सबैलाई मिलाएर लैजाने प्रयास गरेका छन्। गत बिहीबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र नेता माधव नेपालबीच भनाभन हुँदासमेत प्रचण्डले समन्वयकारी भूमिका निर्वाह गरेका थिए।

प्रधानमन्त्री ओली सिंगापुर गएपछि प्रचण्डले नेता नेपाललाई आफ्नै निवासमा बोलाएर छलफल गरेका थिए। प्रतिपक्षलाई समेत विश्वासमा लिएर जानुपर्ने पक्षमा रहेका प्रचण्डले प्रधानमन्त्री ओली १५ दिन मुलुक बाहिर रहँदा एकता प्रक्रियाका बाँकी काम पूरा गर्ने गरी काम गरिरहेको स्रोतले जनाएको छ।

नेकपामा सल्लाहकार कमिटी, प्रवास कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्च, लेखा आयोग, कानुन आयोग, अनुशासन आयोग, केन्द्रीय सम्पर्क–समन्वय कमिटी, विशेष प्रदेश कमिटीलगायतको कार्यविभाजन गर्न बाँकी रहेको छ। पार्टी एकीकरण लगत्तै पूर्णता पाएको नौ सदस्यीय सचिवालय गठन भएको छ।

त्यस्तै, ४५ सदस्यीय स्थायी कमिटी रहेको छ भने ४४१ सदस्यीय नेकपाको केन्द्रीय कमिटी रहेको छ । सात प्रदेश कमिटीमा ४२ पदाधिकारी (इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव) रहेका छन् ।

नेकपाको भूगोलका ७७ जिल्ला कमिटीको अध्यक्ष, सचिव र इन्चार्ज र सहइन्चार्ज तथा छवटा महानगरपालिको इन्चार्ज र सहइन्चार्जको पनि टुंगो लगाइसकेको छ।

नेकपाको २२१ सदस्यीय केन्द्रीय सल्लाहकार समिति बन्नेछ। जसमा तत्कालीन एमालेबाट १२१ र तत्कालीन माओवादीबाट १०० जना सदस्य रहने बताइएको छ। नेकपाको ज्येष्ठ कम्युनिस्ट मञ्च २२१ सदस्यीय बन्ने भएको छ। पार्टीको पोलिटब्युरो कमिटी गठन गर्न पनि बाँकी छ। पोलिटब्युरो १४७ सदस्यीय हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *