टीआरसी आयोग : सिफारिस समितिले थाल्यो काम
काठमाडौं। संक्रमणकालीन न्यायसँग जोडिएका आयोगका पदाधिकारी छनोटका लागि गठित सिफारिस समितिले काम थालेको छ।
समितिको आइतबारको पूर्ण बैठक बसी काम सुरु गरेको सिफारिस समितिका सदस्य एवं प्रवक्ता डा लीली थापाले जानकारी दिइन्। मन्त्रिपरिषद्को यही चैत ११ को बैठकले सिफारिस समिति गठन गरेको थियो।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ को उपदफा ३ बमोजिम सिफारिस समिति गठन भएको हो।
सिफारिस समितिको पहिलो बैठक बसी समितिले आफ्नो कार्य प्रारम्भ गरेको र तोकिएको दुई महिनाभित्र आवश्यक काम पूरा गरिने जनाएको छ।
सिफारिस समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्ने जिम्मेवारी प्राप्त गरेको छ। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरिएको थियो।
समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ सदस्य छन्। त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगका तर्फबाट डा लीली थापालाई सदस्यका रुपमा जिम्मेवारी दिइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment