चामलको सहज पहुँचसँगै जुम्लामा चिनोखेती घट्दै
जुम्ला । जुम्लामा पछिल्लो समय चिनोखेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ। गाउँगाउँसम्म सडक सञ्जाल विस्तार भई चामल सहज रूपमा उपलब्ध हुन थालेपछि किसानले चिनोखेती गर्न छाड्दै गएका हुन्।
जिल्लाको तिला, हिमा, सिञ्जा, पातारासी र तातोपानीलगायतका क्षेत्रमा परम्परागत रूपमा चिनोखेती गरिँदै आएको थियो। विगतमा चामलको अभावका कारण जिल्लाका अधिकांश क्षेत्रमा चिनोखेती हुने गरे पनि अहिले गाउँबस्तीसम्मै चामल पुग्न थालेपछि यसको खेती घट्दै गएको तिला गाउँपालिका–१ का अगुवा किसान लालबहादुर बुढाले बताए।
हिमा, पातारासी, तिला र सिञ्जा गाउँपालिकाका ग्रामीण क्षेत्रमा अझै पनि चिनोखेती हुने गरेको छ। यातायातको पहुँच विस्तारसँगै चामल सहज रूपमा उपलब्ध हुन थालेपछि किसानले विस्तारै चिनोखेती छाड्दै गएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।
हराउँदै गएका चिनोलगायत रैथाने बालीको संरक्षण तथा प्रवर्द्धनका लागि गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै आएको अध्यक्ष धितालले जानकारी दिए।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लामा पछिल्लो समय रैथाने बालीको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ। रैथाने बालीको खेती गर्ने किसानलाई लक्षित कार्यक्रम सञ्चालन गर्न कार्यालयले चालु आर्थिक वर्षका लागि प्रस्ताव माग गरेको उनले बताए।
जिल्लामा चिनोको कुल उत्पादन कति हुन्छ भन्ने यकिन तथ्याङ्क छैन। चालु आर्थिक वर्षदेखि जिल्लामा उत्पादित रैथाने बालीको कुल परिमाणको तथ्याङ्क सङ्कलन गरिने कृषि विकास कार्यालयले जनाएको छ। रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment