परराष्ट्रमन्त्रीसँग बिमस्टेकका महासचिवको शिष्टाचार भेट
काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गरेकी छन्।
छैठौँ बिमस्टेक समिटका लागि थाइल्याण्डको राजधानी बैंककमा रहेका मन्त्री डा राणा र महासचिव पाण्डेबीच आज भेटवार्ता भएको हो। सो भेटका क्रममा मन्त्री डा राणाले क्षेत्रीय शान्ति र एकताका लागि बिमस्टेकको प्रमुख भूमिकालाई नेपालले स्वीकार गरेको र यस क्षेत्रको सामूहिक समृद्धिका लागि बिमस्टेकको सिद्धान्त तथा उद्देश्यप्रति नेपाल प्रतिबद्ध रहेको बताएकी थिइन्।
मन्त्री डा राणाले आसन्न छैठौँ शिखर सम्मेलनले यस क्षेत्रका समस्याको दिगो समाधानका क्षेत्रमा सामूहिक प्रयासका प्रसस्त विकल्प प्रस्तुत गर्नेमा आफू आशावादी रहेको धारणा पनि सो भेटमा राखेकी थिइन्। सो भेटमा उनले बिमस्टेक क्षेत्रमा जलवायु परिवर्तन, प्राकृतिक बिपत्ति, उर्जा संकट, गरिबी, मानवको अवैध ओसारपसार, आतंकवादजस्ता कैयौँ समस्या विद्यमान रहेकाले तिनको समाधानका क्षेत्रमा बिमस्टेकले सामूहिक सहकार्यको मोडललाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने सुझाव दिएकी थिइन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment