ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

डिसी नेपाल
२७ चैत २०८१ १९:१७
172
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अहिले राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।

नेपाल चेम्बर अफ कमर्शको ७४औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मक रुपमा उद्योग–व्यवसायलाई अगाडि बढाउन आग्रह गरेका हुन्।

आजको कृत्रिम बौद्धिकताकोसमेत सदुपयोग गरी उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा उनले जोड दिए। ‘कसैलाई गालीगलौज, बदनाम र भ्रम छर्नका लागि सूचना प्रविधिको प्रयोग गर्नुहुँदैन। यसको प्रयोग मानिसलाई सहज रुपमा सेवासुविधा दिनका लागि हुनुपर्छ। हामीले बाह्य लगानी र संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने हुन्छ। हरेक क्षेत्रमा सम्भावना छ भनेर तपाईंहरुले कन्भिन्स गर्न सक्नुहुन्छ’, प्रधानमन्त्री ओलीले भने। उनले चेम्बर आफ्ना निम्तिमात्रै होइन, देश र समाजका लागि नयाँ सोचका साथ एकताबद्ध भएर अगाडि बढिरहेको समेत बताए।

प्रधानमन्त्री ओलीले सरकारले आर्थिक विकासका लागि ल्याएका अध्यादेशप्रति चेम्बरजस्ता संस्थाहरुले समर्थन गरेको स्मरण गर्दै सही र गलतका आधारमा समर्थन र विरोध गर्ने यस्ता शैलीहरु प्रशंसनीय रहेको बताए।

‘आज हामीलाई सुशासन र विकास चाहिएको छ। सुशानमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुनसक्छ। त्यसलाई नियन्त्रण गर्नका लागि तपाईंहरुको पनि सहयोग चाहिन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘देशको परिवर्तनका लागि योगदान गरेका ठूला पार्टीहरु मिलेर सरकार बनेको छ। त्यसले स्थिरता दिएको आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो सिलसिला कायम रहन्छ। त्यसकारण तपाईंहरु ढुक्क भएर लगानी गर्नुस्। देशको विकासका योगदान गर्नुस्।’

चेम्बर सरकार र निजी क्षेत्रबीचको पुलको कार्य गर्ने संस्था भएको र नीति निर्माणका सवालमा सरकारलाई यसले सघाएकामा प्रधानमन्त्री ओलीले धन्यवाद दिए। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने उद्यमी–व्यवसायीलाई प्रधानमन्त्री ओलीबाट अवार्ड प्रदान गरिएको थियो भने चेम्बरको स्मारिका पनि लोकार्पण भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *