लोकप्रियतावादका नाममा भइरहेका गलत क्रियाकलापप्रति सचेत हुनुपर्छः महासचिव पोखरेल

डिसी नेपाल
३० चैत २०८१ १९:३२

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले लोकप्रियतावाद नाममा हाल भइरहेका गलत क्रियाकलापप्रति सचेत हुनुपर्ने बताएका छन्। राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले लोकप्रियताको आवरणमा समाजलाई पछाडि धकेल्ने उद्देश्य रहेकाले यस्ता क्रियाकलापबारे सचेत हुनुपर्ने धारणा राखे।

हाल राजावादीका नाममा गर्न खोजिएका गतिविधिलाई मुलुक अँध्यारोतिर लैजाने कोसिसका रूपमा चित्रण गर्दै महासचिव पोखरेलले ती कोसिस सफल हुन नसकेको बताए। उनले मुलुकलाई सामाजिक अराजकताबाट सामान्य अवस्थामा फर्काउन सहयोगका लागि सबैलाई आग्रह गरे।

नीतिगत रूपमा सरकारको स्थायित्वमा चुनौती रहेको भन्दै महासचिव पोखरेलले एउटा नीति र एउटा योजनामा लगातार काम गर्न पाउँदा मात्र मुलुकले छिटो प्रगति गर्ने बताए। अस्थिरताका कारणले देश बन्न नसकेको उल्लेख गर्दै उनले भने, ‘देश बनाउने हो भने अब मुलुकको राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति हुनुपर्दछ। अब बलियो राष्ट्रिय शक्तिले मुलुकको शासन गर्नुपर्दछ।’ महासचिव पोखरेलले त्यही मान्यताका साथ हाल जनताले मन पराएका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिलेर सरकार सञ्चालन भइरहेको बताए।

आधुनिक प्रविधि र ज्ञानका माध्यमबाट अपाङ्गता क्षेत्रलाई जोड्न जरुरी रहेको भन्दै उनले राज्यले वैकल्पिक सीपलाई समेट्न नीति ल्याइरहेको र अब बन्ने शिक्षा ऐनमा त्यसलाई समेटिने बताए।

संगठनका अध्यक्ष मित्रलाल शर्माले पार्टीले अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राख्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.