युवाहरुलाई सैनिक तालिम आवश्यक

पूर्ण ओली
१ वैशाख २०८२ ७:५३
64
Shares

देश अहिले अत्यन्त खराब अबस्थामा पुगेको छ। केपी ओली नेतृत्वको सरकार राजावादीको उर्लँदो भेललाई जसरी पनि पेलेर लैजाने सुरमा देखिन्छ। चैत १५ गते तीनकुनेमा भएको आमसभा माथिको प्रहरी ज्यादतीलाई न्यायिक आयोग गठन गर्न समेत नमानेर घटनाको सत्यतथ्य कुरा बाहिर ल्याएर दोषीलाई कारवाही गर्न सरकार अनकनाइ रहेको छ।

सतही रुपमा दुर्गा प्रसाईंलाई मात्र दोष दिएर तोडफोड र लुटपाटमा लागेका केही युवालाई मात्र कारवाही गरेर समस्याको सतही समाधान गरेर मात्र हुँदैन। मेरो आजको बिषय युवाहरुलाई कसरी अनुशासित र कर्मयोगी बनाउने भन्नेमा केन्द्रित छ, जसका कारण युवा तथा राष्ट्रको हित होस्।

नेपालमा यतिबेला युवाहरुको घोर दुरुपयोग भइरहेको छ। केही हुने खानेका छोराछोरीले राम्रो शिक्षा लिएर बिकसित देश गएका छन्। उनीहरु स्वदेश फर्कने संभावना कम छ। साथै उनीहरुबाट देशले खासै रेमिट्यान्स प्राप्त गरिरहेको छैन।

मध्यमबर्ग र गरिब परिवारबाट मलेसिया, अरब तथा कोरिया जाने युवाहरुले आफ्नो रगत पसिना गरेर कमाएको रकम मात्र नेपालमा रेमिट्यान्स आउने गर्छ। यसैबाट देशको धेरै खर्च चल्ने र नेताहरुले मोजमस्ती गर्न सकेका छन्।

कुनैपनि दल र नेताले युवाहरुलाई स्वदेशमै रोजगार बनाउन, यहाँ उच्चस्तरको शिक्षा दिन, बैज्ञानिक, डक्टर, इन्जिनियर बनाएर स्वदेशमा राख्न, बिदेशीएकालाई स्वदेशमा फर्काउन कुनै नीति बनाउन चाहेको देखिँदैन। युवाहरुलाई कसैमा भर नपरी अनुशासित, आत्मनिर्भर बनेर स्वदेशमा बसेर आफ्नो सीप जाँगर स्वदेशको बिकासमा लगाउने क्षमतावान युवा बनाउनु पर्छ।

यसको लागि सबभन्दा राम्रो उपाय सरकारले युवाहरुलाई सैनिक तालिम र आबश्यक सीप सिकाउन थाल्नुपर्छ। जसले उनीहरुलाई स्वस्थ र अनुशासित बनेर कुनैपनि पेशा अपनाउँदै आफ्नो जिविका चलाउन सक्ने हुन्छन्। यस्ता युवाहरु अनावश्यक हुलदंगाामा नलाग्ने मात्र होइन समाजमा हुने अपराधिक घटनामा संलग्न हुनेलाई नियन्त्रण गर्नमा मद्दत पुर्‍याउने छन्।

धेरै बिकसित देशमासमेत स्कुल पास गर्नासाथ आत्मरक्षा र राष्ट्रको सुरक्षाको लागि सैनिक तालिम दिइने गरेको देखिन्छ। यसबाट परेको बेलामा देशको रक्षाको लागि सबै युवाहरु लडाइँको मैदानमा उत्रन सक्षम हुनेछन्। तर मेरो लेखको उद्देश्य लडाइँको लागि मात्र होइन।

युवाहरुलाई स्वस्थ र अनुशासित बनाएर समाजको उत्थानको लागि समाजमा परेको बेला प्रकृति प्रकोप, महामारी, अनिकाल, हुलदंगा, बाहिरी हमला जुनुसुकै अबस्थामा पनि सेनासँग मिलेर रिजर्भ फोर्सको रुपमा प्रयोग हुनसक्छन्। अहिले कतिपय युवाहरु देशको बिग्रँदो अबस्थाले गर्दा राम्रो शिक्षा नपाएर बिभिन्न कुलतमा फसेका छन्।

धेरै होनाहार युवाहरु जाँड रक्सी, चुरोट, खैनी, ड्रग्स खानेदेखि लिएर चोरी, लुटपाट, अपहरण तथा यौन हिंसामा समेत लागेर आफूलाई बरबाद पारिरहेका देखिन्छन्। केही धुर्तहरु पार्टीका झोले बनेका छन्। कोही जग्गा दलाली, कमिसनको ब्यापारमा लागेका छन्।

आधुनिक कृषि पेसामा लागेर खाद्यान्नमा आत्मनिर्भर हुनमा अहिलेका युवालाई कुनै रुची देखिँदैन। बरु युवाहरु अरुको देखासिकी गर्दै आफ्ना जग्गा जमिन मिटर ब्याजमा राखेर महिनाको १५-२० हजार कमाउन बिदेश लाग्छन्। यसरी युवाहरुको भविष्यसँग राष्ट्रले कुनै मतलब नराखी खेलवाड गरिरहेको देखिन्छन्।

ठूला दलका नेताहरुले आफ्ना परिवार र आसेपासेको भविष्यको मात्र ख्याल गरेका छन्। जनताका छोराछोरीलाई आफ्ना पार्टीमा ल्याएर आफ्ना झोले कार्यकर्ता बढाउन मात्र तल्लीन छन् बरिष्ठ नेताहरु। जसले उनीहरुलाई परेको बेला नारा जुलुस गर्ने र ढुंगा मुढा गरिदिउन्।

अहिलेका हाम्रा नेतालाई सत्तामा बसेर कसरी देश र जनता लुट्ने भन्दा अरु देश र जनताको हितमा केही गरौं भन्ने भावना मरिसकेको छ। दलाल र चाकडीवाजको स्वार्थमा रमाएर धनसम्पत्ति जोडेर आफ्ना सन्तानलाई पोस्ने भन्दा अरु कुनै काम गरेका पाइएन।

गत २०८१ चैत १५ गतेको तीनकुनेमा भएको राजावादी शक्तिको जुलुुस र आमसभामा धेरै युवाहरुको उपस्थिति थियो। त्यही दिन भृकुटीमण्डपमा भएको माओवादीसहितका समाजवादीको आमसभामा अत्यधिक युवाको दुरुपयोग गरिएको थियो। यी युवाहरुले आफ्नो लागि नभइ दल र नेताको हितमा मात्र प्रयोग गरिन्छ।

यसप्रकार कसैलेपनि युवाको हित हेरेका छैनन्। यिनै युवालाई सरकारले बिभिन्न तरिकाबाट उत्तेजनामा ल्याएर युवाहरुका बीचमा घुसपैठ भएका अवान्छित तत्वहरुले तोडफोड, आगजनी र लुटपाट गरे। यी जुलुसमा भाग लिने र लुट्ने दुबैथरी युवा नै थिए।

तर सम्पूर्ण दोष आयोजकलाई लगाएर केही युवाहरुलाई कारवाही गर्नु सतही समाधान मात्र हो। यो गम्भिर छानवीनको बिषय भएको छ। यो एउटा नराम्रो सुरुवात हो। यस्ता घटना अरु बढ्ने संभावना देखिन्छ। बेरोजगार, निरास युवाहरुलाई सरकार र दलले दुरुपयोग गरिएका छन्।

त्यसैले सरकारले स्थायी समाधानको लागि युवाहरुलाई सहिबाटोमा ल्याएर अनुशासित बनाएर देशको बिकासमा लगाउन सैनिक तालिम महत्वपूण कडी हुनसक्छ। सैनिक तालिमबाट युवाहरु अनुशासित, स्वस्थ र देशप्रति समर्पित इमान्दार शक्ति हुनसक्छन्।

जसले तोडफोड लुटपाट र बिध्वंस गर्ने छैनन्। कमसेकम सैनिक तालिम लिएका ब्यक्तिले आत्मसुरक्षाको तालिम लिएका हुन्छन्। यसबाट ठूला मल, उद्योग, ब्यापार केन्द्रमा बस्ने सुरक्षा गार्डले आफ्नो कर्तब्य पूरा गर्दै लुटपाट गर्नेलाई दोहोलो काट्न सक्छन्।

जसरी कोटेश्वर भाटभटेनीका सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीले एक्लैले १०–१५ जना लुटाहालाई हिम्मतसाथ एक्लै लडेर भगाए। यदि सबै सुरक्षा गार्ड सैनिक तालिम प्राप्त ब्यक्ति भएका भए सबै मिलेर हुलिया लुटाहहरुलाई कब्जामा लिन सक्ने थिए।

माओबादी पहिलोचोटी सरकारमा आउँदा सबै युवालाई सैनिक तालिम दिने र राजधानीलाई उपत्यका बाहिर सार्नुपर्छ भनेको थियो। यी दुबै बिषय अत्यन्त महत्वपूर्ण र राष्ट्रको हितमा थिए। ती बिषय माओबादी सत्ताको हालिमुहालिमा डुबेपछि सबै बिर्सँदै गयो। त्यतिबेला माओवादीले यति दुई चिज गर्न सकेको भए देशको अबस्था अर्कै हुन्थ्यो।

सैनिक तालिम नियमित सेनाको जस्तो पूरा अबधिको आबश्यक छैन। ३ देखि ६ महिनाको लागि गर्न सकिन्छ। जुन अहिले सेनाले राष्ट्रिय सेवा दलको तालिम चलाएको छ त्यसको संख्या बढाएर पनि चलाउन पनि सकिन्छ। यसलाई केही समय ब्यारेक सिस्टममा चलाउन उपयुक्त हुनेछ।

जसको कारण युवामा सेनाको झल्को आओस्। यही समयमा युवाहरुलाई बिभिन्न सीप सिकाउन सकिन्छ। खासगरी सैनिक तालिम बिहानको समय र कहिलेकाहीँ राति पनि चल्ने हुनाले दिनको समयमा सिटिइभिटीले चलाए जसरी सेना र सिटिइभिटीको सयुक्तरुपमा आवश्यक सीपहरु सिकाइयोस्।

यसले युवाहरुलाई तालिम पश्चात जुनसुकै क्षेत्रमा पनि आफ्नो सीपको प्रयोग गर्न सक्नेछन्। छात्र छात्राको एसइइ परीक्षा सकेपछि केही महिनाको खाली समयमा तालिमको उपयुक्त समय हुनसक्छ। परीक्षा सकिनासाथ उनीहरुको इच्छा अनुसार पायक पर्ने नजिकैको ब्यारेकमा सम्पर्क राख्न लगाइयोस्।

त्यही ब्यारेकले तोकेको स्थानमा जम्मा गरेर उनीहरुको सबभन्दा पहिला स्वास्थ्य परीक्षण गराउने। स्वास्थ्य परीक्षण पछि उनीहरुलाई खाने बस्ने ब्यबस्था गरेर सेनाले पाउने रासन सरह दिएर तालिम संचालन गर्न उपयुक्त हुनेछ।

सैनिक तालिमको लागि आबश्यक शिक्षक सेनाले तयार गर्न कुनै कठिनाइ हुनेछैन। उक्त तालिमको लागि आबश्यक पर्ने रकम शिक्षार्थीको संख्या अनुसार नेपाल सरकारले सेनालाई उपलब्ध गराउनु पर्नेछ।

सैनिक तालिम लिइसकेपछि युवाहरु स्वस्थ र अनुशासित नागरिक भएर समाजको बिकासमा लाग्नेछन्। यो युवाशक्ति कुनैपनि किसिमबाट गलत संगतमा लाग्नेछैन। एउटा राष्ट्र सेवक बनेर आफ्नो समाज र राष्ट्रको उत्थानमा अवश्य पनि यी युवाले सहयोग पुर्‍याउने छन्।

सैनिक तालिम प्राप्त गरेका ब्यक्ति अनाबश्यक राजनीतिमा लागेर आफ्नो भविष्य बिगार्ने छैनन्। यसबाट युवाहरुमा रहेको जोस र जाँगरको सही सदुपयोग गराउने र उनीहरुमा आफ्नो स्वास्थ्यको ख्याल गर्न पट्टी इच्छा जाँगर बढाउँछ।

यी स्वस्थ युवाहरुले चाहेमा भविष्यमा सेना, प्रहरीमा भर्ना हुन सजिलो हुने र देशको सेवा गर्ने अबसर पाउने छन्। अहिले अरबमा जाने युवाहरुमा जसले सीप सिकेको छ, जसले सेना र प्रहरीको तालिम लिएको छ त्यस्ता ब्यक्तिले अरुले भन्दा धेरै बढी पारिश्रमिक पाइरहेका छन्।

नेपालमा पनि बिभिन्न बैंक, उद्योग, संस्थान, मलहरुमा भुपु सेना प्रहरीले राम्रो तलब भत्ता पाइरहेका छन्। सीप सिकेको कालिगढ, प्लम्बर, इलेक्ट्रिसियन, पेन्टर, मालिले, फार्मिसिस्ट, कृषि विज्ञले महिनामा लाखौं रुपैयाँ कमाएको पनि देखिएको छ।

एउटा सीप भएको ब्यक्तिले आफ्नो गाउँ घरमा पनि बिभिन्न किसिमले फलफूल, तरकारी खेती, पशुपंछी पालन, माछापालन, सानातिना कुटिर उद्योग चलाइरहेका छन्। सेनाको तालिमबाट मानिसमा जाँगर, अनुशासित भएर परिश्रम गर्ने बानी परेको हुन्छ।

यसबाट पनि सैनिक तालिम र सीपमुलक तालिमको समन्वय गरेर युवाहरुलाई सही बाटोमा लगाउन सकिन्छ। जसबाट युवाहरुको उज्वल भविष्य बनाउन मद्दत साथै रोजगार बन्न सक्नेछन्। स्वदेशमा स्वस्थ र अनुशासित नागरिक भएपछि देश बिकासमा धेरै मद्दत पुग्नेछ।

साथै बिदेशमा बसेका नेपालीलाई पनि नागरिकता प्रदान गरी स्वदेशमा आमन्त्रण गरी शुसानसहित बिकासमा छलाङ मार्न अत्यावश्यक भइसकेको छ। अहिले बिदेशमा बसेका नेपाली मुलका धेरै बिज्ञ व्यक्तिहरु स्वदेशमा आएर बिकास गर्न र लगानि गर्न खोजिरहेका छन्।

देशले यदि सक्षम देशभक्त इमान्दार नेतृत्व पाएमा नेपालको कायापलट गर्न कुनै समय कुर्नु पर्दैन। तर यो सरकार कसरी सत्ता जोगाउन सकिन्छ भनेर मात्र लागेकोले धेरै आश त गर्न सकिँदैन।

तर यी माथिका बिषय लागूगर्न यो सरकार अग्रसर भएमा अत्यधिक जनताको साथ पाउन सक्छ। नयाँ बर्षमा देशले सही बाटो समाओस्। नयाँ बर्ष २०८२ को सबैमा हार्दिक मंगलमय शुभकामना।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *