विदेशमा रहेका नेपाली हाम्रा लागि सफ्ट पावरः परराष्ट्रमन्त्री राणा

डिसी नेपाल
१८ वैशाख २०८२ १९:४०
216
Shares

काठमाडौं। परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेतृ डा आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छन्।

कांग्रेसको जनसम्पर्क समिति समन्वयले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियामा उनले दोस्रो पुस्तालाई नेपालसँग आबद्ध गराउन आवश्यक रहेको बताइन्।

‘विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरु हाल विभिन्न मुलुकको राजनीतिमा पनि सक्रिय हुनुहुन्छ, उहाँहरु हाम्रा लागि सफ्ट पावर हुनुहुन्छ, हामीले त्यसको उपयोग गर्नुपर्छ’, उनले भनिन्।

डा राणाले अहिले गैर आवासीय नेपाली कार्डको विषय मुख्य रहेको उल्लेख गर्दै यो जारी गर्न आवश्यक रहेको बताइन्। ‘तपाईंहरुले लामो समयदेखि एनआरएन कार्डको विषय उठाउँदै आउनुभएको छ, कार्ड जारी गर्न ढिलाइ भइसकेको छ, आजसम्म यहाँहरुले देखाउनुभएको धैर्यताको म कदर गर्छु’, उनले भनिन्। अहिले नेपालमा स्थायी सरकार गठन भएकाले चाँडै कार्ड जारी हुनेमा उनले विश्वास व्यक्त गरिन्।

एनआरएन कार्डको विषयमा संविधान निर्माणको समयमा व्यापक छलफल भएको उल्लेख गर्दै डा राणाले कांग्रेस यो विषयमा सुरुदेखि नै प्रतिबद्ध रहेको उल्लेख गरिन्। अहिले विदेशमा रहेका नेपालीहरुमा सामाजिक सुरक्षा कोषसम्बन्धी आवश्यक जानकारी कम भएकाले पनि समस्या भइरहेको उनको भनाइ थियो।

कांग्रेस नेपालको एक मात्रै लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै उनले पार्टीप्रति विश्वास र भरोसा गर्न आग्रह गरिन्। ‘हामी लोकतान्त्रिक पार्टी हो भन्दै आउने र जाने भइरहेका छन्, तर लोकतन्त्रमा विश्वास राख्ने पार्टी कांग्रेस मात्रै हो’, उनले भनिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.