जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

डिसी नेपाल
३१ वैशाख २०८२ १९:५४
320
Shares

चितवन। जिल्ला कारागारमा कैदीबन्दीको चाप बढेसँगै १४० जना कैदीलाई स्थानान्तरण गरिएको छ। चालु आर्थिक वर्षको साउनयता ती कैदीलाई देशका विभिन्न कारागारमा स्थानान्तरण गरिएको हो।

जिल्ला कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार पछिल्लो पटक वैशाख २५ गते पाँच जनालाई मोरङ् कारागार स्थानान्तरण गरिएको छ। भीमफेदी कारागार मकवानपुरमा एकजना, काठमाडौँको जगन्नाथ देवलमा सात जना, हाल केन्द्रीय कारागार रहेको खम्बाक्याम्प नुवाकोटमा ८७ जना, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) २९ जना, तनहुँ कारागारमा एकजना, रसुवा कारागारमा आठ जना र डिल्लीबजार कारागारमा दुई जनालाई स्थानान्तरण गरिएको हो।

हाल चितवन कारागारमा ७२० जना कैदीबन्दी छन्। ४७० पुरूष कैदीबन्दी क्षमता रहेको कारागारमा ६७५ जना र ३५ जना महिला कैदीबन्दी क्षमता रहेकामा ४२ जना छन्। उनीहरूसँग आश्रित तीन जना बालबालिका रहेको सूचना अधिकारी ढुङ्गानाले जानकारी दिए।

कारागारमा कैदीको चाप बढेसँगै २० जना कैदीबन्दीलाई भवनमा बनाएको पालिमुनि राख्नु परेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *