प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट

डिसी नेपाल
१ जेठ २०८२ १२:११
32
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चिनियाँ टोलीले यही जेठ २ गतेदेखि काठमाडौंमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबीचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको बताए। उनले नेपालको विकास र समृद्धिका लागि चीनियाँ नेतृत्वको शुभेच्छा रहेको अवगत गराउँदै गत डिसेम्बरमा प्रधानमन्त्री ओलीबाट भएको चीनको औपचारिक भ्रमण सफल रहेको स्मरण गरे।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि मित्रवत र समस्यारहित एवं हार्दिक सम्बन्ध रहीआएको उल्लेख गर्दै चीनले विकास र प्रविधिका क्षेत्रमा तीव्ररुपमा गरेको विकास र त्यसको विश्वव्यापी प्रभावबाट आफू प्रशन्न रहेको बताए।

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चीनफिङको पछिल्लो नेपाल भ्रमणको स्मरण गर्दै उक्त भ्रमण बहुआमिक र ऐतिहासिक रहेको उल्लेख गरे। उनले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्‍याउँदै दुई देशबीच भएका सहकार्यका सम्झौताको कार्यान्वयनका लागि सबै पक्षबाट अग्रसरता लिनुपर्नेमा जोड दिए।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि चिनियाँ राजदूत चन सोङ र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *