निबन्ध : हृदयमा सूचीकृत हिमाली सौन्दर्य
सपनाको झरीमा रुझ्दै मैले विपनाको सौन्दर्य भेटें। त्यहाँ हिमाली सौन्दर्य हृदयको गहिराईमा सूचीकृत भइसकेको थियो। मैले त्यसलाई ओल्टाई-पल्टाई गहिरिएर हेरें। त्यसमा मैले मेरो देशको प्राकृतिक सौन्दर्यको गौरवमय छटा छताछुल्ल भइरहेको देखें।
कैयौँ दूरी टाढाको देशबाट हाम्रा हिमाल, पहाड, पर्वत, खोलानाला हेर्न आएका विदेशी पर्यटकको लर्को देखेर म छक्क पर्छु। हाम्रा प्राकृतिक सौन्दर्यलाई आँखाले पिएर उनीहरूले लिएको आनन्दमा म पनि आनन्दित हुन्छु।
विकसित देशका मानिसहरू आधुनिक सुविधाले सबै कुरा पुगिसरी भए तापनि उनीहरूलाई हाम्रो शान्त, सुन्दर हिमाल असाध्यै मनपर्छ। नेपाली जनजीवन, स्वभाव, संस्कार र संस्कृति उनीहरूलाई साह्रै मनपर्छ।
पदयात्राका क्रममा कतिपयलाई मैले जिज्ञासा राखेको थिएँ। एउटै प्रश्न धेरैलाई सोध्दा साझा उत्तर एकै पाउँदा मलाई गौरवको महसुस त्यो एकलासको हिमाली उचाइमा भएको थियो। विदेशी अतिथिहरूको एउटै उत्तर थियो।
नेपालीहरू साह्रै आत्मीय छन्। मिलनसार छन् सरल जीवनशैलीमा पनि गहिरो भावनात्मक एकता गाँसिएको हुन्छ। तर विदेशमा यस किसिमको भावनात्मक एकता माया, प्रेम बिरलै मात्र पाइन्छ।
हृदयमा सूचीकृत हिमाली सौन्दर्य भन्नु वास्तवमा आफ्नै देशको आफ्नै भूगोलको अनुपम प्राकृतिक सौन्दर्यको स्वरूप हो। जुन स्वरूपले प्रकृतिप्रेमीको मन हर्छ। त्यही हिमाली सौन्दर्यको प्रथम साक्षात्कारमा मान्छेका मनहरू यति हर्षविभोरले रमाउँछन् कि त्यसको वर्णन गरी साध्य छैन। यस्तो खुसी, यति धेरै आनन्द र यति मिठो प्रकृतिको स्वाद वास्तवमा हृदयमा सूचीकृत हिमाली सन्निकट सम्बन्धले मात्रै गराउन सक्छ।
हिउँको न्यानोपनबारे कहिले कसैले सोचेको होला र !? हिउँ त चिसो हुन्छ नि कटक्कै हातै काट्छ भनेर यो कुरा सुन्दा कोही कोही सानो स्वरमा फिस्स हाँस्छन्। तर हिमालको हिउँले कहिलेकाहीँ मन तताउने गर्छ। शरीर होइन, हृदयको कुनामा निदाएको सौन्दर्यप्रतिको श्रद्धा बिउँझाइदिन्छ।
अफसोसको कुरा हो। पर्यावरण असन्तुलनले गर्दा केही वर्षदेखि हिमालमा हिउँ पर्न छाडेको छ। हिउँले सेताम्मे भरिने हिमालहरू अब कालो पत्थरका रूपमा परिणत हुँदैछन्। चिसो तापक्रम पनि क्रमशः घटिरहेको छ।
हुन त हिमालहरू भूगोलका उचाइ मात्र होइनन्। ती आत्माका सर्वोच्च आरोहणहरू हुन्। त्यहाँ पुग्न पैतालाले मात्र हैन, हृदयले पनि हिडँ्नुपर्छ। आँखाले मात्र होइन मनले पनि देख्न सक्नुपर्छ।
यसरी हिमाललाई नजिकैबाट हेरेको, हिमालसँग हिमचिम गरेको र हिमाल देखेर हर्षले गदगद भएका क्षणहरू जिन्दगीभरकै लागि अविस्मरणीय घटनाका यादगार पलहरू हुन्।
म कहिल्यै नबिर्सने त्यो बिहान सम्झन्छु, जब सूर्यको पहिलो किरणले सगरमाथाको चुचुरोमा सुनौलो सिन्दूर दल्दै थियो। त्यो क्षणलाई मैले शब्दमा होइन, हृदयमा सूचीकृत गरें। अहिले पनि आँखाझैँ मन अघिल्तिर त्यो दृश्य चम्कन्छ।
त्यो चम्काइमा शान्त, निर्लिप्त तर सजीव दृश्यको सुमधुर आभास देख्छु। त्यसैगरी अन्नपूर्ण शिखरको सुन्दर स्वरूपलाई कलिलो घामको पर्शले चुमेर त्यसमा सुनले लेपन गरेको विछट्टको दृश्य कम मनमोहक थिएन।
यही अनुपम दृश्य हेर्नलाई विदेशी पर्यटकको घुइचो। बिहानको चिसोलाई लात हानेर सबैका आँखा हिमालतिर। पर्यटक र प्रकृतिको यो दृश्य मेरा लागि कति खुसी, कति आनन्द र कति गौरवको थियो !?
हिमालको सौन्दर्य बाहिरी आँखाले हेर्ने कुरा मात्रै होइन रहेछ। त्यो त भित्रि आँखाले अनुभूति गर्ने वस्तु रहेछ। सगरमाथाको टाकुरा वरिपरि फैलिएका बादलको पंक्ति, चुपचाप हाँसिरहेको आमादब्लमको समर्पित र गोक्यो तालमा प्रतिविम्बित हिमाली लस्कर र आकाश गंगाको सुनौलो छवि ! यति मनोहर, यति प्रीतिकर र यति हार्दिक दृश्यले मन त्यसै रमाउनु स्वाभाविक हो।
प्रकृतिले केही बताउँदैन तर प्रकृतिलाई हेरेर धेरै कुराको अनुभूति ग्रहण गर्न सकिन्छ। प्रकृतिमा दृश्य मात्रै होइन रङका अनुपम स्वरूपहरू, संरचना र रङका विशाल आयामहरू विद्यमान हुन्छन्। तिनै रङहरूमा घामको किरणहरूले स्पर्श गरेपछि त्यसमा उत्पन्न हुने अझ अनेकौं रङहरूको उपस्थितिमा मान्छे त्यसै-त्यसै पागल हुन्छन्।
घाम र दृश्यहरूको संयोजनमा देखिने रङहरूलाई क्यानभासमा उतार्न सकिँदैन। तिनलाई अनुभूतिका अक्षरहरूमा लेख्न पनि सकिँदैन। बरु मातै अनुभूति गर्न सकिन्छ मन भित्रभित्रै ! एउटा बेग्लै अनुभूति ! एउटा अलग्ग भाव सौन्दर्यले वसीभूत भावानुभूति, कल्पनातीत, अनुभूतिगम्य !
त्यसैले प्रकृतिको सौन्दर्य बोल्दैन, सौन्दर्यलाई महसुस गर्न सक्नुपर्छ भन्ने कुरा यी सबैले मलाई सिकाए। म त्यहाँ ती दृश्यहरू टिप्न होइन, आफूलाई बिर्सन गएको थिएँ। फर्किंदा म बिर्सेर फर्केको थिइनँ। म फेरिसकेको थिएँ। मैले यात्राबाट धेरै कुरा बटुलेर ल्याएको थिएँ। जुन एकपटकको वर्णनमा सकिँदैनन्।
यी सबै क्षणहरूले सौन्दर्यलाई टिप्न खोज्नुभन्दा उसमा समाहित हुन ठूलो कुरा हुने रहेछ। त्यसपछि चित्र बनाऊ, कविता लेख, नियात्रा, निबन्ध आदि सिर्जनामा आफूलाई अभिव्यक्त गर्न सकिन्छ। तर पहिले मौन भएर त्यो सौन्दर्यसँग केही क्षण बाँच्नुपर्ने रहेछ।
आज पनि, जब म झ्यालबाट हिमालका दृश्य देख्छु, म ती क्षणहरू पुनः अनुभव गर्छु। सायद यही हो- हृदयमा सूचीकृत हिमाली सौन्दर्य। जुन कहिल्यै ओइलाउँदैन, न मेटिन्छ, न त बिर्सिन सकिन्छ। बरु झन्–झन् नयाँ अनुभूतिका आलेखहरूमा शब्दहरू लेख्न प्रेरित गरिरन्छ।
















Facebook Comment