अंशु यादव हत्याको विरोधमा जनकपुरमा प्रदर्शन
जनकपुर । जनकपुरधाममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेस्रो लिङ्गी र किन्नर)समुदायले विरोध प्रर्दशर्न गरेका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध गर्नुका साथै धर्नासमेत दिएका छन्।
गत चैत्र २ गत्ते होलीको दिन जनकपुरधामस्थित विन्धिमा चक्कु प्रहार गरी हत्या भएको अंशु यादवको हत्यामा संलग्नहरुलाई प्रशासनले पक्राउ नगरेको र पक्राउ गरेकाहरुलाई पनि धरौटिमा रिहा गरेको भन्दै उनीहरूले विरोध जनाएका हुन्।
उनीहरुले एकमात्र छोराको हत्या भएपछि न्यायका लागि भौतारिँदै हिँडेको अंशुको आमालाई न्याय दिनुको साटो प्रहरी प्रशासनले पक्राउ परेकाहरुलाई धरौटीमा छाडेर झन घाउमाथि नुन छर्केको आरोप लगाएका छन्। धरौटीमा छुटेकाहरूले अंशुको आमालाई धाकधम्की दिँदै आएको उनीहरूको आरोप छ।
आन्दोलनकारीहरूले अंशुको हत्यामा संलग्न सबैजनालाई कानुनको दायरामा ल्याएर सजाय नदिए आफूहरु अनिश्चितकालिन धर्नामा बस्ने चेतावनी दिएका छन्। उनीहरूले आफूहरूको अगाडि पछाडि कोही नरहेको भन्दै अंशुको लागि मर्नु परे मर्न तयार रहेको बताएका छन्।
उनीहरूले प्रहरी र राजनीतिक व्यक्तिहरुले पैसाको चलखेल गरेर अपराधी उम्काउन खोजेको आरोप लगाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment