मुगु–हुम्ला जोड्ने कर्णाली नदीमा बेलीब्रिज बन्ने, दोमुख–सिनेखर्कका बासिन्दामा उत्साह
मुगु । मुगु र हुम्लालाई जोड्ने कर्णाली नदीमाथि बेलीब्रिज निर्माण हुने भएको छ । सोरु गाउँपालिका–१० र ११ अन्तर्गत पर्ने दोमुख–सिनेखर्क क्षेत्रमा तत्कालका लागि बेलीब्रिज निर्माण प्रक्रिया अघि बढेपछि स्थानीयवासीमा उत्साह छाएको छ ।
लामो समयदेखि निर्माण अलपत्र रहेको दोमुख मोटरेबल पुलको विकल्पका रूपमा बेलीब्रिज जडान गर्न लागिएको हो । सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीको पहलमा बेलीब्रिज निर्माणका लागि आवश्यक संरचना निर्माण, जडान तथा ढुवानी खर्च गाउँपालिकाले नै व्यहोर्ने प्रतिबद्धतासहित सडक विभाग चाकुपाट, ललितपुरमा प्रस्ताव पेश गरिएको थियो ।
सोही पहलपछि हुम्लाको खार्पुनाथ गाउँपालिका क्षेत्रमा रहेको चुवाखोलास्थित कर्णाली नदीको बेलीब्रिज दोमुखमा स्थानान्तरण गर्ने विषयमा कर्णाली प्रदेश सरकार तथा सम्बन्धित निकायबीच सहमति जुटेको छ । २०८३ साउन १४ गते भएको सहमतिअनुसार सडक विभागले बेलीब्रिज उपलब्ध गराउने र आवश्यक जडान तथा संरचना निर्माणको खर्च सोरु गाउँपालिकाले व्यहोर्ने जनाइएको छ ।
बेलीब्रिज निर्माण सम्पन्न भएपछि मुगुको सोरु गाउँपालिकाको धैन क्षेत्र, हुम्लाको अदान्चुली गाउँपालिका तथा कर्णाली करिडोरसँग जोडिएका बस्तीका नागरिकलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । हाल वर्षायाममा कर्णाली नदीका कारण स्थानीयले शिक्षा, स्वास्थ्य, व्यापार, आपत्कालीन सेवा तथा दैनिक आवतजावतमा ठूलो समस्या भोग्दै आएका छन् । पुल सञ्चालनमा आएपछि यी समस्या धेरै हदसम्म समाधान हुने विश्वास गरिएको छ ।
स्थानीयवासीका अनुसार बेलीब्रिज सञ्चालनमा आएपछि कर्णाली करिडोर हुँदै रारा जाने छोटो मार्गसमेत थप सहज हुनेछ । यसले आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउनुका साथै स्थानीय उत्पादन, व्यापार तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
लामो समयदेखि प्रतीक्षामा रहेको दोमुख मोटरेबल पुल निर्माण अलपत्र परेपछि तत्काल नागरिकलाई सेवा उपलब्ध गराउने उद्देश्यले बेलीब्रिज निर्माणको निर्णय गरिएको हो ।
यसका लागि सोरु गाउँपालिका, सडक विभाग, पूर्वाधार विकास कार्यालय मुगु, जिल्ला समन्वय समिति मुगु, कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत निकायबीच समन्वय भएको छ ।
बेलीब्रिज निर्माणको पहल सफल भएपछि स्थानीयले सम्बन्धित निकाय तथा निरन्तर आवाज उठाउने सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् । उनीहरूले पुल सञ्चालनमा आएपछि मुगु र हुम्लाका हजारौँ नागरिकको जीवन सहज हुने विश्वास व्यक्त गरेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment