प्रधानमन्त्री कप भलिबल: हेल्प नेपाल र पुलिस क्लबलाई उपाधि
कास्की। पोखरामा सञ्चालन भएको नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’को उपाधि पुरुषतर्फ टिप टप हेल्प नेपाल स्पोर्टस् क्लबले तथा महिलातर्फ नेपाल पुलिस क्लबले जितेको छ।
नेपाल भलिबल संघको आयोजनामा पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा यही जेठ ८ गतेदेखी सुरु भएको उक्त प्रतियोगिता आज भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली गण्डकी प्रदेशलाई ३–२ सेटले हराउँदै टिपटपले लगातार तेस्रो पटक उपाधि जितेको हो। च्याम्पियन बनेको टिपटपले रु आठ लाख पुरस्कार पायो । उपविजेता गण्डकीले रु चार लाख पुरस्कार प्राप्त गर्यो।
उक्त खेलमा गण्डकी प्रदेशले सुरुआती दुई सेट २५–२० र २७–२५ अंकले जित्यो भने हेल्प नेपालले तीन सेट २५–२२, २५–१४ र १५–८ अंकले जित्यो।
यसैगरी महिलातर्फ टिप टप न्यु डायमण्ड युथ स्पोर्टस एकेडेमीलाई ३–१ ले हराउँदै पुलिस क्लबले उपाधि जित्यो। उक्त खेलमा पुलिसले पहिलो सेट २५–२० अंकले जित्यो भने दोस्रो सेट डायमण्डले २५–२२ अङ्कले जित्यो। तेस्रो सेट निकै प्रतिस्पर्धामक बन्यो। उक्त सेट पुलिसले २८–२६ अंकले जित्यो। पुलिसले चौथो सेट २५–१४ अङ्कले जित्दै लगातार तेस्रो पटक उपाधि जित्न सफल भयो। पुलिसले रु आठ लाख तथा उपविजेता न्यू डायमण्डले रु चार लाख पुरस्कार पायो।
यसैगरी तृतीय भएका पुरुषतर्फ पुलिस र महिलातर्फ एभरेष्ट भलिबल क्लबले समान रु दुई लाखका दरले पुरस्कार पाए। प्रतियोगितामा महिलातर्फ नेपाल पुलिसकी उषा भण्डारी र पुरुषतर्फ हेल्प नेपालका मुशवहर रजा उत्कृष्ट हुँदै जनही रु ५० हजार पुरस्कार पाए।
प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कार वितरण गरे। महिला तथा पुरूषतर्फका विजेता टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्। पुरूष काभा क्लब च्याम्पियन्स लिग तीन महिनापछि मालदिभ्समा हुनेछ। महिला प्रतियोगिता भने नेपालमा आयोजना हुने नेपाल भलिबल संघले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment