धर्म र राजनीति (भाग १)

कपिल लोहनी
१७ जेठ २०८२ ७:२९
244
Shares

विगत छ महिनादेखि एकल व्यक्तित्व समाजका भेलाहरूमा विभिन्न धर्मका गुरुहरूलाई आमन्त्रण गरेर धर्म र संस्कृतिका दर्शन बारे कुराकानीको कार्यक्रम सञ्चालन गरियो। यस अन्तर्गत सनातन धर्म, इस्लाम धर्म र वौद्ध धर्म बारेका कुराहरू सुन्ने अवसर मिल्यो।

यस्ता सबै धर्महरूको मुल उद्देश्य मानिसलाई समाजमा अनुशासनका साथ रहन सिकाउने रहेछ। विभिन्न डर र त्रास देखाउँदै सामाजिक नियमको पालना गर्न र सहअस्तित्वका साथ सुखी र शान्त जीवन व्यतित गर्न सबै धर्महरूले मानवजातीलाई सन्देश दिँदा रहेछन्।

धर्मशास्त्रले देखाएको बाटोमा हिँडेर धर्मकर्म गर्न, तीर्थ गर्न, दानदातव्य गर्न, विभिन्न मूल्य र मान्यता भित्र बसेर जीवनयापन गर्न, एकअर्काको सम्मान गर्न, त्याग तथा तपस्या गर्न, सद्मार्गमा हिँड्न सबै धर्मले सिकाउँदा रहेछन्।

हालका जल्दा बल्दा धर्म र दर्शनहरू भन्दा पहिले विश्वका सबै स्थानहरूमा आआफ्ना धार्मिक दर्शन, रितिरिवाज र संस्कारको विकास भएको थियो। तर पछि पछि आजका विभिन्न अगुवा धर्म मान्ने शासकहरूको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव र दवावदे गर्दा पुरातन धर्म र मान्यतामा निकै ह्रास आएको रहेछ।

परापूर्वकालदेखि नै सबै धर्मावलम्बीहरूले आआफ्ना आस्था अनुसार मठ, मन्दिर, मस्जिद, गुरुद्वारा, गुम्बा, गिर्जाघर आदि निर्माण गर्ने र सकेसम्म आफ्नो धर्मको रक्षाका साथै बढी भन्दा बढी मानिसले आफ्ना आस्थाका प्रतिक माथि आकर्षित भएर आफ्नो धर्म मान्न थालुन् भन्ने चाहना राख्दा रहेछन्।

आजभन्दा १०० वर्ष पहिलेसम्म पनि ठूला ठूला राजा-महाराजा, शासक तथा धनाढ्यहरूले पुण्य कमाउन भनेर धार्मिक केन्द्रहरूको निर्माण गर्ने चलन थियो। जनताको निम्ति कलकारखाना आदिको निर्माण भन्दा पनि धार्मिक संरचना र पाटी-पौवा अनि कुवा आदिले प्रश्रय पाएका कैयन् उदाहरण छन्।

विभिन्न धर्मका प्रतिवादकहरूको राम्रो सोचको विपरित पछिल्लो समयका धेरै शासकहरूले आफ्नो धर्म मात्र ठीक र अरु सबै बेकारका कुरा भएको जिकिर गर्ने गरेका छन्। आफ्नो धार्मिक आस्थामा आकर्षित गर्न मानवजातिलाई फकाएर, तर्साएर वा कुनै पनि प्रकारले आफूतिर झुकाउन बाध्य गराएका उदाहरणहरू इतिहासमा पढ्न पाइन्छ।

विश्वभर नै बेलायत तथा अन्य युरोपेली राष्ट्रहरूले जहाँ जहाँ आफ्नो साम्राज्यको विस्तार गरे, त्यहाँ चर्चहरू निर्माण गरे र धर्म र आफ्ना रीतिरिवाजको पनि प्रचार गरे। ती ठाउँका विभिन्न प्रकारका कुरीतिहरू जस्तै जातपातको भेदभाव आदिले तल पारिएका मानिसहरूलाई क्रिस्चियन धर्म मान्न नानाथरीका प्रलोभन दिए र यो क्रम अझै जारी छ।

नेपालको पछिल्लो संविधानमा धर्मनिरपेक्षता समावेश गरेर नेपालमा क्रिस्चियन धर्मको खुलेआम प्रचार गर्ने हेतुले विकसित राष्ट्रहरूले त्यतिबेला नेपालमा पैसाको निकै ठूलो खोलो बगाएको कुरा चर्चामा छ। त्यस यता नेपालमा हजारौँ चर्च र लाखौँ क्रिस्चियनहरू पनि थपिएका छन्। साम्प्रदायिक हिंसा भड्काएर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने तत्व निकै सक्रिय छन् नेपालमा।

आज विश्वमा क्रिस्चियन धर्म सबैभन्दा बढी ३०.७ प्रतिशत यानी अढाई अर्ब मानिसले मान्ने गरेका छन्। यो धर्म मान्नेहरू विभिन्न खेमा जस्तै रोमन क्याथोलिक, प्रोटेस्टेन्ट, अर्थोडक्स आदिमा बाँडिएका छन्।

उत्तर र दक्षिण अमेरिकामा युरोपीयनहरू पुगेर स्थायी बसोवास गर्नको निम्ति त्यहाँका आदिवासीहरूलाई ठूलो दमनका साथ परिजित गरे सँगै क्रिश्चियन धर्म र आफ्ना मुलुकका भाषा, संस्कृति र परिवेशलाई लाद्न शुरु गरे।

पछि बचेखुचेका आदिवासीले पनि ती मुलुकबाट आयातित धेरै संस्कारहरूलाई व्यवहारमा ल्याउन वाध्य भए। तैपनि उनीहरूको प्राचीन धर्म, संस्कृति र संस्कारलाई निकै हदसम्म बचाएर राख्न उनीहरू सफल भए। माया, इन्का, एज्टेक तथा रेड इन्डियन आदिका उदाहरण लिन सकिन्छ।

उता अष्ट्रेलिया र न्युजिल्याण्डमा पनि माओरी र अन्य एबोरिजिनलहरूले आफ्ना रीतिथिति र धर्मकर्मलाई त्यसै गरेर लोप हुनबाट बचाएर राख्न सके। प्यासिफिक आइल्याण्डका आदिवासीको कथा पनि त्यस्तै छ। आज आएर तिनका संस्कारहरू अध्ययन, अनुसन्धान र पर्यटकीय महत्वका कुरा हुन गएका छन्।

अफ्रिकामा पनि युरोपियन र अरबहरूका प्रभाव क्षेत्रमा आआफ्ना धर्म र संस्कृति लादिएका भए पनि पुराना धर्म, दर्शन र संस्कार पनि आजसम्म जोगिएरै रहेका छन्।
विज्ञान तथा प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेका तथा चन्द्रमा र सोभन्दा टाढा टाढासम्मको खगोलीय अनुसन्धानमा विज्ञता हासिल गरेका पश्चिमा राष्ट्रहरू समेत धर्मको कुरामा निकै कट्टर छन्।

विकासशील राष्ट्रहरूको गरिवीको फाइदा उठाएर यी राष्ट्रमा क्रिश्चियन धर्म फैलाउन उनीहरू हर तरहले प्रयासरत छन्।

नेपालजस्ता अति विपन्न र भ्रष्टतम मुलुकमा नेतादेखि प्रशासक र गैर सरकारी संस्थाका सञ्चालकहरू समेत आफ्नो धर्म र संस्कृतिलाई मास्ने उद्यममा लागेर विदेशीलाई सघाउँदै छन् भने दक्षिण कोरिया र ताइवान जस्ता मुलुकलाई सैन्य सहयोग दिएर जोगाउने बहानामा कुनै बेलामा अधिकांश वौद्ध धर्मावलम्वी भएका राष्ट्रलाई आज क्राइस्टमय बनाउन सफल भएका छन्। फिलिपिन्स र कैयन् अन्य राष्ट्रको पनि यस्तै कथा व्यथा छ।

बुद्धले बुद्धत्व प्राप्त गर्ने वित्तिकै पहिलो चोटी सारनाथमा आफ्ना पाँच जना शिष्यलाई राखेर वौद्ध दर्शन र निर्वाण बारे उपदेश दिए पछि वौद्ध धर्म विश्वभर पैmलन शुरु भएको हो। अशोक जस्ता भारतका महान् सम्राटले वौद्ध दर्शनबाट प्रभावित भएर हिंसा र रक्तपातको राजनीति छोड्नुका साथै वौद्ध धर्मको खोज र प्रचारमा लागे पछि आफ्नो मुलुकको सिमाना  फैलाउँदै लग्ने काम पुरै बन्द गरिदिए।

उनका एक पुत्रले लङ्कासम्म गएर वौद्ध धर्मको प्रचार गरे भने पुत्री चारुमतिले नेपाल र तिव्वतमा प्रचारप्रसार गरिन्। अशोकले आफैं लुम्बिनीको भ्रमण गरेर वुद्ध जन्मेको ठाउँ पत्ता लगाउनुका साथै चिनोको रूपमा त्यहाँ अशोक स्तम्भ ठड्याउन लगाए। शान्तिको बाटो अँगाल्ने वित्तिकै उनको राज्य विस्तारै संकुचनको बाटो तिर लागेर पछि विभिन्न राज्यहरूमा बाँडिन पुग्यो।

आज विश्वमा प्रत्यक्ष रूपमा वौद्ध धर्म मान्ने मानिसको संख्या करिव ५२ करोड यानी विश्वको कुल जनसंख्याको ६.६ प्रतिशत छ। वौद्ध धर्म मान्ने मानिसहरूको बाहुल्य भएका प्रमुख मुलुकहरूमा कम्बोडिया, थाइल्याण्ड, म्यानमार, भुटान, श्रीलंका, लाओस, मङ्गोलिया, जापान आदि पर्छन् भने जनसंख्याको आधारमा सबैभन्दा बढी चीनमा करिव २४ करोड, थाइल्याण्डमा ६ करोड, जापानमा ५ करोड र म्यानमारमा ४ करोड वौद्ध धर्मावलम्वी छन्।

इस्लाम धर्मका प्रवद्र्धक हजरत मोहम्मदले आफ्नो मातृभूमि अरबमा इस्लाम धर्मको प्रतिपादन गरेर उपदेश दिए पछि उनका अनुयायीहरूको संख्या बिस्तारै बढ्दै गएर शान्तिप्रिय तवरले नै इस्लामको प्रचारप्रसार गरे।

तर कालान्तरमा इस्लाम धर्म मान्ने अधिकांश धर्मगुरु तथा सम्राटहरूले आफूले जितेका भूभागमा बनेका मठ-मन्दिर, गुम्बा, चर्च तथा मुर्ति र कलात्मक ऐतिहासिक स्मारकहरूलाई बर्बरतापूर्वक तहस नहस पारेर आफ्नै धर्मका स्मारक र भव्य मस्जिदहरूको निर्माण गराए र त्यहाँका जनतालाई इस्लाम धर्म मान्न वाध्य बनाए। अफ्रिका, भारत, मध्य एसिया, सुदुरपुर्वी एसिया आदि ठाउँमा यस्तै हुन पुग्यो।

आज इस्लाम धर्म विश्व कै दोश्रो सबैभन्दा बढी मानिने धर्मको रूपमा चिनिन्छ भने विश्वभर २६.९ प्रतिशत यानी १ अर्ब ९८ करोड मुस्लिमहरू छन्। यो धर्म मान्नेहरू सिया, सुन्नी र अन्य खेमामा बाँडिएका छन्।

इन्डोनेशियामा २३ करोड, पाकिस्तानमा २२ करोड र भारतमा २१ करोड, बंगलादेशमा १५ करोड र नाइजेरियामा १२ करोडको हाराहारीमा मुसलमानको जनसंख्या छ भने मुसलमानहरूको जनसंख्या विश्वमा नै तिव्र रूपले बढ्दै पनि गरेको छ।

सनातन धर्म विश्व कै पुराना धर्म मध्येको एक हो। वास्तवमा यो एक महान् दर्शन हो। आर्यन, द्राविड, सिन्धु तथा अन्य सभ्यतामा हुर्केका दर्शनहरूको सम्मिश्रणले बनेको धर्म सनातन हो। विश्वमा हिन्दू धर्म तेश्रो ठूलो धर्मको रूपमा चिनिन्छ र यसका अनुयायीको संख्या १ अर्ब १० करोड यानी १५.१ प्रतिशतको हाराहारीमा छ।

जनसंख्याको अनुपातको आधारमा विश्वमा सबैभन्दा बढी हिन्दूहरू बसोवास गर्ने मुलुक भारत र नेपाल हुन् भने भारतीय र नेपाली समेत बस्ने धेरै मुलुकहरूमा हिन्दूहरू ठूलै संख्यामा रहेका छन्। हिन्दू धर्म मान्नेहरू अनेक जातपातमा विभाजित छन् भने अधिकांश हिन्दूहरूले वौद्ध धर्मलाई पनि आदरका साथ हेर्छन् र वुद्धलाई भगवान कै रूपमा पुज्ने गर्दछन्।

विश्वको आठ अर्ब जनसंख्यामध्ये करिव १५.६ प्रतिशत यानी १ अर्ब २५ करोड जति मानिस कुनै पनि धर्म नमान्ने खालका पनि छन्। खासगरी कम्युनिष्ट मुलुकहरूमा धर्म नमान्नेहरूको बाहुल्य रहेको हुन्छ भने कैयन् विकसित मुलुकहरूमा पनि धर्ममा आस्था नराख्ने शिक्षित व्यक्तिहरूको संख्या बढ्दै गएको छ। त्यस्तै करिव ५० करोड मानिस अन्य साना तथा स्थानीय लोपोन्मुख धर्म मान्नेहरू छन्।

यातायात, सञ्चार र विज्ञान तथा प्रविधिले विश्वलाई ज्यादै सानो बनाउँदै र विश्वभरका बासिन्दालाई नजिक ल्याउँदै गए पनि धर्म एउटा यस्तो अस्त्र र लत या अम्ल भएको छ कि, जसको माध्यमबाट खासगरी राजनीतिज्ञहरूले सोझा जनतालाई विभाजित तुल्याएर राज्य गर्ने गरेका छन्। धर्म कै निम्ति विश्वमा आजसम्म धेरै ठूला युद्ध तथा हिंसा भड्किने गरेका छन् भने कतिपय मुलुकहरू गृह युद्ध र अझ विभाजन कै चपेटामा पुगेका छन्।

आजको निकै चलायमान विश्वमा विभिन्न धर्म र संस्कृतिलाई पछ्याउने मानिसहरू जताततै बसाईं सरेर बसेका छन्। सकेसम्म स्वधर्मावलम्वीहरू त्यस्ता ठाउँमा आआफ्ना समुदाय बनाएर बस्ने गर्छन्।

यदि विकसित मुलुकमा बसोवास गरेका छन् भने त्यहाँ त्यति धेरै साम्प्रदायिक दंगा र भेदभाव हुन पाउँदैन। तर पनि कुनै कुनै धर्मावलम्बीहरूले आफू बस्ने गरेको विदेशी मुलुकभित्र नै आतङ्ककारी क्रियाकलाप गर्ने गरेको पनि पाइन्छ।

न्युजिल्याण्ड, फ्रान्स, जर्मनी, अमेरिका आदि मुलुक धर्मको कुरामा निकै उदार भए पनि त्यहाँ यदाकदा धार्मिक र जातियताका हिमायती उग्रवादीले आतंक मच्चाउने गरेका छन्। पाकिस्तान, भारत, श्रीलंका जस्ता दक्षिण एसियाका राष्ट्रमा पनि आतंककारी गतिविधिले निकै कष्ट पुर्‍याउने गरेको छ।

क्रमश…

लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.