लघुकथा : समाजवाद
‘समाजवाद नै हो-हाम्रो आन्दोलनको लक्ष्य !…’
कोठामा भएको थियो- बैठक।
र, परर… बजेका थिए- ताली।
ताली बजाउनेहरूमध्ये एउटा थियो- शेखर।
त्यस ‘कोर युनिट’का क्रान्तिकारी साथीहरूका बीचमा भेटघाट आयोजना गरियो- लामो समयावधिपछि। परिवार, पार्टी र राज्य नै स्खलनको सपोर्टमा देखिएको समयमा कसले किन पो लाज मानोस्!
यस बीचमा एउटा क्रान्तिकारी अध्यागमन विभागमा सरासर भित्रै पुग्ने भएछ।
अर्को क्रान्तिकारीले ठेकदारी समातेछ; हाकिम र सरकारिया इन्जिनियरसँग राम्रै सम्बन्ध गाँसेछ।
अर्को मन्त्रीको पीए रहेछ।
अर्को तस्करीमा लागेको रहेछ्। भन्दै थियो- ‘एयरपोर्टमा एकपटक रुट पक्रिनु के थियो…’
अर्को ‘सुख्खा’बाट केही वर्षअघि ‘मालदार’ अड्डामा आएको रहेछ। भन्यो पनि-‘पहिले त गरिवीमै बाँचिएको थियो तर अब समाजवाद टाढा रहेन।’
अर्को दलाल अर्थाद् बिचौलिया अर्थाद् एजेन्ट भएछ। उसले आफ्नो पहुँचको माथिल्लो हदको कुरा गर्दा सुन्ने जति थिए, सबैले जिभ्रो टोके ।‘
शेखरले खुइया सुस्केरा छाड्यो र आफैसँग भन्यो- ‘लौ, साथीहरूमध्ये धेरैको समाजवादको चौकामै ‘पिर्का’ रहेछ। आफूले त जस्केलाबाट भान्सामा चिहाउनेधरि हैसियत बनाउन पनि सकिएन।’
No ads found for this position


Facebook Comment