कालीकोटको मुम्रा बालविवाह निषेधित वडा

डिसी नेपाल
२२ जेठ २०८२ १४:४६
8
Shares

मान्म । यहाँको सान्नीत्रिवेणी गाउँपालिका–८ मुम्रालाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ। ‘नगरौं बिहेको कुरा, भएको छैन २० वर्ष पूरा’ भन्ने मूल नाराका साथ बालविवाह निषेधित वडा घोषणा गरिएको हो।

शिक्षा, स्वास्थ्य, पोषण तथा संरक्षणमा बाल विवाहले प्रतिकूल असर परेकाले सान्नीत्रिवेणी गाउँपालिकालाई दुई वर्षभित्र बालविवाहमुक्त पालिका घोषणा अभियान सुरू गरेको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए।

‘बालविवाह जस्तो सामाजिक कुप्रथाले बालबालिकाको जीवन अन्धकारमा पुर्‍याएको छ,’ उनले भने, ‘उमेर नपुगी बिहे गरेका किशोरीहरू कुपोषणको मारमा छन् । सामाजिक, सांस्कृतिक, आर्थिक रुपमा कमजोर छन्।’

गाउँमा कसैले पनि बालविवाह नगर्ने नगराउने प्रतिबद्धतासहित बाल विवाह निषेधित वडा घोषणा गरिएको बाल अभियन्ता तथा अधिवक्ता खडानन्द चौलागाईंले बताए। ‘बालविवाह कानुनी र सामाजिक अपराध हो,’ उनले भने।

चार वर्षअघिसम्म ६८ प्रतिशत बाल विवाह रहेको मुम्रामा ‘प्लान’सहितका संघसंस्थाको सहयोगमा अभियान सञ्चालन गरेपछि गत चैतमा १० प्रतिशतभन्दा कम भएको हो।

सान्नीत्रिवेणी गापाको ७ र ८ नम्बर वडा बालविवाह निषेधित वडा घोषणा भइसकेका छन्। बालविवाह निषेधित वडा घोषणापछि पालिकाले किशोरकिशोरीको शिक्षामा लगानी गर्ने गाउँपालिकाकी उपाध्यक्ष पार्वती सञ्ज्यालले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *