वैदेशिक रोजगारीको प्रलोभनमा पारी २४ लाख ३४ हजार ठगी गर्ने चार जना पक्राउ

डिसी नेपाल
२० साउन २०८३ २०:०७

काठमाडौं। आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्तिहरूमा नुवाकोट स्थायी ठेगाना भई हाल काठमाडौं बस्ने ४१ वर्षीय मनोहर मुडभरीले एक व्यक्तिलाई मौरिसस पठाउने प्रलोभन देखाई ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको भेटिएको छ।

उनलाई साउन १९ गते ललितपुरबाट पक्राउ गरिएको हो। त्यसैगरी बाजुरा घर भई हाल काठमाडौं बस्ने २६ वर्षीय अनिल मल्लले कम्बोडिया पठाउने भन्दै ८ लाख ८४ हजार रुपैयाँ ठगी गरेको भेटिएको छ। उनलाई साउन २० गते काठमाडौँको वडा नं. ११ बाट पक्राउ गरिएको हो।

कास्की स्थायी घर भई हाल टोखा बस्ने ३४ वर्षीया कमला पौडेल सुनारले रोमानिया पठाउने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा साउन २० गते काठमाडौंको वडा नं. २६ बाट पक्राउ गरिएको हो।

पाँचथर घर भई हाल काठमाडौं बस्ने ४१ वर्षीय तुलसीराम ढुङ्गेलले युएई पठाउने प्रलोभन देखाई ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा साउन २० गते काठमाडौंको वडा नं. ९ बाट पक्राउ परेका हुन्।

प्रहरीका अनुसार यी व्यक्तिहरूले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुल गर्ने तर लामो समयसम्म नपठाई सम्पर्कविहीन हुने गरेको पाइएको छ। पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *