कैलारी गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल सेवा सुरु
सुदूरपश्चिम। कैलारी गाउँपालिका–५ बैजपुरमा निर्माण गरिएको १५ शय्याको अस्पतालबाट आजदेखि सेवा सुरु भएको छ। आज एक कार्यक्रमकाबीच अस्पताल सेवाको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले अस्पताल सञ्चालनमा आएपछि गाउँपालिकाका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार हुने बताए।
उनले यसअघि गाउँपालिका क्षेत्रमा स्तरीय स्वास्थ्य संस्था नहुँदा सामान्य स्वास्थ्य समस्या देखिँदासमेत उपचारका लागि धनगढी जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे। “अस्पतालले यहाँका नागरिकलाई सहज, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास छ। खासगरी गाउँपालिकाको दक्षिणी क्षेत्रका कतिपय नागरिक उपचारका लागि सीमावर्ती भारतीय क्षेत्रमा जाने समस्या पनि समाधान हुनेछ”, अध्यक्ष चौधरीले भने।
गाउँपालिका, स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने सङ्घीय सरकारको नीतिअनुसार अस्पताल सेवा सञ्चालन गरिएको जानकारी दिए।
कूल रु १९ करोड पाँच लाख लागतमा अस्पताल निर्माण सम्पन्न भएको उनले बताए। विसं २०७९ असार २९ गते ठेक्का सम्झौता भई अस्पताल निर्माण सुरु भएकामा गत असारमा गाउँपालिकालाई भवन हस्तान्तरण गरेको थियो।
अस्पतालमा हाल बहिरङ्ग सेवा (ओपिडी), एक्सरे, इसिजी, प्रयोगशाला, प्रसूति र फार्मेसीलगायत सेवा दिइने गाउँपालिकाले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment