आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
काठमाडौं । आख्यानकार विजय हितानको लाहुरे दाइको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ।
गैर आवासीय नेपाली सङ्घको भाषा, साहित्य समितिले स्थापना गरेको दुई लाख नगद राशिको अरनिको अन्तर्राष्ट्रिय पुरस्कारको यो तेस्रो संस्करण हो। विदेशमा बस्ने नेपाली लेखकहरूको उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ।
शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति, प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार विजय हितानलाई प्रदान गरे । प्रमुख अतिथि काइँलाले मास्टर मित्र सेनको सैनिक र कलाकारिता जीवनलाई पठनीय किसिमले प्रस्तुत गरेकोमा कृतिकार हितानलाई बधाई दिए । नेपाली सेनाका अवकाश प्राप्त रथी साहित्यकार बाबुकृष्ण कार्कीले सो कृति सेना, पुलिसका अतिरिक्त साहित्यका सबै पाठकलाई रोचक रहेको बताए ।
आख्यानकार नयनराज पाण्डेले लेखनका अनेक विषयमा अहिले युद्ध साहित्य हाबी हुँदै आएको जनाए । गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष एवं अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष कवि हिक्मत थापाले संस्थाले प्रवासमा रहेका नेपाली प्रतिभाहरूलाई समेट्दै प्रोत्साहन गर्न यो पुरस्कार स्थापना गरी वितरण गर्दै आएको जानकारी दिए। कवि रमेश पौडेलले बेलायती सेनामा कार्यरत नेपाली सर्जकको सिरानीमा बन्दुक भए पनि हृदयको कलमले मलहम लाउन सिपालु भएको बताए ।
पुरस्कृत प्रतिभा विजय हितानले आदि गायक मास्टर मित्र सेन थापाको जीवनीमाथि लामो खोज र अनुसन्धान पछि सो कृति प्रकाशन गरेको र यो पुरस्कारले युद्ध साहित्यको अनुसन्धानमा अगाडि बढ्न प्रेरणा मिलेको बताए। कार्यक्रममा साहित्यकारहरू प्रतीक ढकाल, भवानी खतिवडा, कृष्ण बाउसे, सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक दुर्जकुमार राई लगायतको उपस्थिति थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment