काठमाडौं महानगरको सीप मेला कति उपयोगी ?

डिसी नेपाल
२५ जेठ २०८२ ११:५४
20
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले आयोजना गरिरहेको दोस्रो संस्करणको सीप मेला काठमाडौंको ठूलो टुँडिखेलमा जारी छ। ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ नारा दिएर संचालनमा रहेको मेलामा १० क्षेत्रका ३७ पेसामा तालिम प्रदान गर्ने लक्ष्य छ।

तालिमको सञ्चालन अवधि ३० दिनको हो। तालिम दैनिक छ ओटा कक्षा सञ्चालन गरेर १०० घण्टा तालिम दिइरहेको छ ।

आइसिटी क्षेत्रमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर टेक्निसियन, बौद्धिक कृत्रिमताका लागि एआइ र यसको प्रयोग एआइ एन्ड इट्स एप्लिकेसन गरी पाँच विधामा तालिम संचालित छ।

स्पेसल एभिलिटी सपोर्ट स्किल साउन सिन्ड्रोम, अटिज्म हाउस किपिङ पिडब्लुडी र केयर सर्भिस गरी दुइओटा विधाका तालिम सन्चालन हुँदै आएको छ। इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एन्ड रेफ्रिजेरेटर, सीसीटिभी रिपेयरिङ, मोबाइल रिपेयरिङ गरी चार विधाका तालिम भएको छ ।

गार्मेन्टमा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ गरी दुई विधा कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र कार्पेन्ट्री गरी पाँच विधामा तालिम भएको छ। हस्पिटालिटीमा बारिस्टा, वेटर, फास्ट फुड र बेकरी गरी चार विधामा भैरहेको छ।

अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल इभी मेन्टिनेन्स, हलुका सवारीसाधन उपकरण मर्मत लाइट भेहिकल मेसिन, विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी तीन विधामा तालिम सञ्चालन गरेको छ।

आर्ट एन्ड स्कप्चरमा थाङ्का, सेरामिक्स टेराकोटा गरी दुई विधामा तालिम गर्दै ज्योतिष र पुरोहितको पनि तालिम चलिरहेको छ। कृषिमा फूलको सजावटसम्बन्धी तालिमसहित सौन्दर्यकर्मी, मेकअप एन्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने र स्टक मार्केट तालिम समेत महानगरले गराइरहेको छ ।

महानगरले काठमाडौँ महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडक पेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखेको छ।

२०८२ सालमा कम्तीमा २०८२ जनालाई तालिम प्रदान गर्ने लक्ष्य लिएको महानगरले सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गरिरहेको छ ।

जेठ ७ गते देखि सुरु भएको तालिमका सम्बन्धमा बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तालिम चलाएर एकदमै महत्वपूर्ण कामको काम गरेको र सीप सिकेकाहरुले यसलाई सहि सदुपयोग गरि देशमै केही गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘महानगरले एकदमै महत्वपूर्ण काम गरिरहेको छ। सीप सिकेकाहरुले यसलाई सही सदुपयोग गरि देशमै केहि गर्न सकिन्छ भनि गरेर देखाउन आवश्यक छ। यसरि नै देशलाई विकास गर्न सकिन्छ।

नयाँ परिवर्तनको लागि टेक्नोलोजिलाई बढी प्राथमिकता दिएको छ यो राम्रो पक्ष रहेको छ। अरुले गरेको कुरा हामी किन गर्न सक्दैनन् भन्ने महानगरले प्रमाण गरिदिएको छ। सबैको हातमा सीप हुन आवश्यक छ। देश तथा विदेशमा सीपको आवश्यक पर्ने हुँदा सीप सिक्न जरुरी छ।’

महानगरपालिकाका तालिम संयोजक देवेन्द्र केसीले २५४७ जनाले तीन सिफ्ट गरि तालिम लिइरहेको बताउँदै उनले तालिम बिहान ७ बजे देखि बेलुकी ७ बजेसम्म खुल्ने गरेको बताए।

संयोजक केसीले अहिले कस्तो खालको उद्योग बजारमा आवश्यक छ भनि खोजीनिती गरी तालिम सन्चालनमा ल्याएको बताए। यहाँ सिकेका सीपले सम्पूर्णले जागिर पाउने विश्वास व्यक्त गरे।

उनले भने ‘रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि तीन बर्षे आयोजना हो। सोही अन्तर्गतको दोस्रो संस्करण हो। यसमध्ये २५४७ जनाले तीन सिफ्ट गरि तालिम गरिरहेको छन्। ०८१ मा नागरिकहरुको मागलाई फोकस गरेका थियौं। अहिले कुन उद्योग आवश्यक छ त्यस अनुसार तालिम लिनेलाई जागिरमा लगेको र १२ सयभन्दा बढीलाई अहिलेपनि प्राथमिकता दिएका छौं। हाल कस्तो किसिमको उद्योगमा जनशक्तिको माग छ सोही अनुसार तालिम चलाएका छौं।’

उक्त तालिममा सीप सिकेका विद्यार्थी छत्रबहादुर शाहीले आफूमा सिक्ने चाहना छ भने तालिमले क्षमता बढाएर अगाडि बढाउन सहयोग गरिरहेको बताउँछन्।

अनिवार्य रुपमा हरेक वडादेखि यस्ता कार्यक्रम गर्न आवश्यक रहेको बताए। उनले युवालाई यस्ता सीपबाट विदेश पलायन हुनबाट रोक्न पर्ने भन्दै महानगरले यस्तो कार्यक्रम सन्चालन गरेकोमा खुशी व्यक्त गरे। उनले सीप मेलामा सबैभन्दा बढी आकर्षित गर्ने भनेको स्टक मार्केत रहेको र यो थोरै लगानीमा धेरै आम्दानी हुने समेत दाबी गरे।

उनले भने,‘यहाँ सीप सिकेर सेल्फ कन्फिडेन्स बढाएर केहि गर्न सकिन्छ। आफूमा एउटा सिक्ने चाहना छ भने तालिमले क्षमता बढाएर अगाडि बढाउन सहयोग गरिरहेको छ। यस्ता खालका कार्यक्रम सरकारले स्थानीय तहमा अनिवार्य गरिनुपर्छ। युवालाई यस्ता सीपबाट विदेश पलायन हुनबाट रोक्न पर्ने हो। तर यस्तो हुन सकेन तरपनि काठमाडौं महानगरपालिकाले गरेकोमा खुशी छौँ। मेलामा बढी आकर्षित गर्ने भनेको स्टक मार्केट हो। किनकी यसमा थोरै लगानीमा धेरै आम्दानी हुने भएकाले सबैभन्दा राम्रो लागिरहेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.