मिर्गौला पीडितलाई १३ लाख रकम हस्तान्तरण

डिसी नेपाल
२५ जेठ २०८२ २२:५६
48
Shares

वालिङ (स्याङ्जा) । यहाँका एक मिर्गौला पीडित युवाको सहयोगका लागि रु १३ लाख १६ हजार सङ्कलन गरी हस्तान्तरण गरिएको छ। वालिङ नगरपालिका–९ भुसालथोकका मिर्गौला पीडित ३६ वर्षीय जगदीश भुसालको सहयोगार्थ नेपाल स्वयंसेवक सञ्जालले रकम सङ्कलन गरी हस्तान्तरण गरेको हो।

सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहँदै आएको सञ्जालले ‘जगदीश बचाउ अभियान’ सञ्चालन गरी सो रकमको चेक उहाँको परिवारलाई हस्तान्तरण गरेको हो। भुसालको दुवै मिर्गौलाले काम गर्न छाडेपछि अभियान सञ्चालन गरी उक्त रकम सङ्कलन गरेको सञ्जालका अध्यक्ष गोविन्द गैरेले बताए। सञ्जालले सामाजिक सञ्जालको प्रयोगमार्फत सञ्चालन गरेको अभियानमा देश तथा विदेशमा रहेका विभिन्न सहयोगदाताले संस्थालाई उपलब्ध गराएको रकम उहाँको परिवारलाई उपलब्ध गराएको अध्यक्ष गैह्रेले बताए।

वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहेका भुसाल केही समयअघि मात्रै स्वदेश फर्किएका थिए। उनको हाल काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको भाइ चिरञ्जीवी भुसालले बताए।

चार वर्षअगाडि वालिङमा स्थापना भएको सञ्जालले केही दिनअगाडि मात्रै वालिङ–५ की पाठेघरको क्यान्सरबाट पीडित युवती बिपना रेग्मीलाई दुई लाख सहयोग गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *