कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

डिसी नेपाल
२६ जेठ २०८२ ७:२६
56
Shares

पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति हुने भएको छ। कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भैइरहेकोमा आज समापन हुनेछ।

योसँगै कोटीहोममा सहभागी भएका चार सय जना ब्राम्हणलाई पनि सोमबार नै बिदाई गरिनेछ। साथै व्रतवन्ध, चौरासी पूजासहित अन्य केही कर्म पनि सोमबार नै समापन हुनेछ।

आइतबार पनि कोटीहोममा करिब दुई लाख भक्तजन सहभागी भएको आयोजकको दावी छ। हालसम्ममा कोटीहोममा सहभागी हुने भक्तजनको संख्या करिब ३० लाख पुगेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।

आइतबार चलचित्र नायक आर्यन सिग्देल, नायिक अञ्जना बराइली, निर्देशक दिवाकर भट्टराईलगायत सहभागी भए।

शनिबार २१ करोड दीप प्रज्ज्वलन भएको थियो भने करिब पाँच लाख भक्तजन सहभागी भइका थिए। हालसम्म करिब सात करोड ५० लाख रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए।

कोटीहोममा भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन्। कोटीहोमको समयावधि थप भएसँगै उनले जेठ ३१ सम्म कथा वाचन गर्नेछिन्।

कोटीहोम सफल भएको भन्दै पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष गरेका थिए भने तालबाराही मन्दिरमा एक हजार नरिवल अर्पण गरिएको थियो। अधिकारीले शंखघोषसँगै हिन्दूराष्ट्र नेपालको समेत उद्घोष गरेका थिए।

कोटीहोममा हालसम्मकै सबैभन्दा ठूलो धनराशि पुरस्कार भएको राष्ट्रिय भजन प्रतियो्गिता र राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र स्थानीयको जग्गामा जारी कोटीहोम जेठ ३१ सम्म सञ्चालन हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.