लघुकथा: चिहान
काम विशेषले लिमासोलदेखि पाफोस तर्फ जाँदै थिएँ।
सँगै एक जनासाथी पनि थियो। जाँदा जाँदै कुदिरहेका गाडीको झ्यालबाट केही रोपनी ओगटेर बनेको चिहानहरु देखियो।
मैले थाहा हुँदाहुँदै साथीको नाम पुकारेर, “युरि” के हो त्यो?
उनले चिहानहरु हो मात्रै भन्यो।
-अनि !
खै के सोचेर हो। मैले जिउँदो छउन्जेल एकाआपसमा लडेर जिन्दगी बितायो। अहिले हेर सबैजना कति मिलेर बसेको है।
उनलाई मेरो कुराले मनमा छोयो क्यारे!
गम खाएर निक्कै बेरपछि “यस यु आर राईट” भनेर पुलुक्क मेरो मुहारमा हेर्यो, अनि गाडी हुईँक्याउन थाल्यो।
काम सक्कियो।
उनी उनको गुँडतर्फ लागे, म आफ्नै गुँड तर्फ लागेँ। बस्ने ठाउँमा आइपुगेर दिउँसो मोबाइलबाट खिचेको भिडियो प्ले गरेर हेरियो।
भिडियोमा त्यो चिहानपनि आएको रहेछ।
“चिहान” हामीले पाउने अन्तिम शाश्वत सत्य मृत्युको प्रमाण हो भन्छु म। मैले भनेको कुरा सत्य हुनुपर्छ भन्ने छैन-
तन कोठाको कुर्सीमा ढलेपनि मन दिउँसो देखेको चिहान घारी घुम्न पुग्यो। घुमियो, ती चिहान भित्र हिजो अस्तिसम्म म जस्तै बोल्ने, हिँड्ने, लोभ पापमा चुर्लुम्म डुब्ने, एक आपसमा मारामार गर्ने मान्छेहरु नै थिए।
हिजो मारामार, काटाकाट गर्नेहरु क्या काइदाले सिधा लाइनमा चुपचाप सुतिरहेको छन्। कोल्टो फेर्न नपर्ने गरि, सास फेर्नु नपर्ने गरि, भोकतिर्खा कहिल्यै नलाग्ने गरि,
अनि कहिल्यै नउठ्ने गरी सुति रहेका छन्।
कतै झार उम्रेका छन्। कतै ताजा फूलको गुच्छाहरु हाँसिरहेको छन्। कतै झार सँगै फूल उम्रेर फूल फुलिरको छन्। मन मजाले डुल्दै थियो। एक्कासि आवाज आयो। कोहो तिमी?
म कोही होइन। बस् मान्छे हुँ। मलाई यो ठाउँ गजब लाग्यो। त्यसैले अवलोकन गर्न आएको हो। अनि उहाँ चाहिँ को होनि?
म समय।
ए!
समय पनि बोल्छ र? अलि झर्केर तिमी मन भएर डुल्न सक्छाै भने म समय बोल्न नसक्ने हुन्छ?
मौनता छायो। मन थाकेर हुँदो हो। फर्के आफ्नो तन भएको ठाउँनिर। अघि सम्म थर्काउने समयको बुई चढेर।
तन-मन सँगै भयो। जीवनसँग अपरिहार्य टास्सेर आएको चिहान र बस्दै गरेको घरहरुको मूल्यांकन गर्न थाली। मेहनत र पौरखलाई लात हानेर।
लुटेर,थुतेर, छलकपट गरेर चाहिने भन्दा बेसी धन थुपारेर किन मरिहत्ते गर्छ मान्छेहरु…? काटाकाट, मारामार गर्दै लुटेको धन नहुँदो रहेछ चिहान घारीमा। चिहान गाँउमा न बैंक देखियो, न सपिङ महल बस जति साइजको मान्छे हुन्छ त्यही आकारको चिहान मात्रै देखियो।
















Facebook Comment